प्रदर्शन तयारीमा रहेको फिल्म 'बेहुली'ले बक्स अफिसबाट गर्ने कमाइमा निर्माताको हिस्सामा पर्ने रकमको ५ प्रतिशत भोटेकोशी क्षेत्रका बाढी प्रभावितका लागि प्रदान गर्ने भएको छ।
फिल्मका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो घोषणा गरेका हुन्।
भदौ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘बेहुली’को ट्रेलर आइतबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण केही समय प्रचारप्रसार स्थगित गरेको निर्माण टिमले अवस्था सहज बनेसँगै ट्रेलर सार्वजनिक गर्दै प्रचार अभियान पुनः सुरू गरेको हो।
प्रस्तुतकर्ता तथा निर्माता पोखरेलका अनुसार निर्माताको हिस्सामा पर्ने कुल रकमको ५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमार्फत भोटेकोशी क्षेत्रका बाढी प्रभावितलाई प्रदान गरिनेछ।
फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयाम प्रस्तुत गरिएको छ। पारस बम ठकुरी र दिव्या रायमाझीको प्रेम सम्बन्धसँगै सुशान्त कार्कीको प्रहरी भूमिका, पदम तामाङको कमेडी तथा सन्तोष बानियाको फरक भूमिकालाई पनि ट्रेलरमा देखाइएको छ।
ट्रेलरले सार्वजनिक भएदेखि नै दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ। यसको भ्युज पनि लोभलाग्दो देखिएको छ।
सार्वजनिक भएको छोटो समयमै ट्रेलर नेपालमा युट्युब 'ट्रेन्डिङ चार्ट'को शीर्षस्थानमा पुगेको छ। नेपालमा मात्रै नभई ट्रेलर विश्वका ११ देशको ट्रेन्डिङ चार्टमा समेत परेको जनाइएको छ।
सशान कँडेल निर्देशित 'बेहुली'मा माधव शर्माको लेखन छ।
फिल्ममा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषसँगै सरिता गिरी, विशाल पहारी, कर्मा लामालगायत कलाकारहरूको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता प्रताप शमशेर राणा हुन्।