यो शुक्रबार नेपालमा तीन नेपाली र तीन विदेशी फिल्म एकसाथ रिलिज हुने भएका छन्।
भदौ २६ गतेदेखि नेपालीतर्फ 'पेन्सन पट्टा', 'बेहुली', 'अक्षरा'सँगै विदेशी फिल्म 'हनुमान अंश', 'फल २: डेडपोइन्ट' र 'हैवान' प्रदर्शनमा आउन लागेका हुन्।
फिल्म 'पेन्सन पट्टा' माओत्से गुरूङको निर्देशनमा बनेको ड्रामा फिल्म हो। यो फिल्ममा दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायत कलाकारहरूको अभिनय छ। यसको कथा ऋणको बोझ, बाबुको मृत्यु, पेन्सन पट्टा र आमा–छोराको संघर्ष वरिपरि घुम्छ।
त्यस्तै, 'बेहुली' सशान कँडेल निर्देशित पारिवारिक तथा भावनात्मक ड्रामा हो। यसले प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयाम प्रस्तुत गर्नेछ। अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा पारस बम ठकुरी 'कुल ब्वाइ', दिव्या रायमाझी, पदम तामाङ, सुशान्त कार्कीलगायत कलाकारहरूको अभिनय छ।
त्यसैगरी, 'अक्षरा' विनय राज पौडेलको निर्देशनमा बनेको सामाजिक-पारिवारिक ड्रामा हो। महिलाको पहिचान, सम्बन्ध, पारिवारिक मूल्य र सामाजिक चुनौतीलाई फिल्मले कथाको केन्द्रमा राखेको छ। फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता बस्नेतलगायत कलाकारहरूको अभिनय छ।
विदेशी फिल्मतर्फ हिन्दी 'हनुमान अंश' शुक्रबारदेखि नेपालमा प्रदर्शन हुँदैछ। भारतमा चर्चामा रहेको यो आध्यात्मिक यात्रामा आधारित बायोपिक फिल्म हो।
नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित फिल्ममा शोभिनव सत्या, चन्दन के आनन्द, अनिल रस्तोगी, पूर्णिमा तिवारी, विहान शेड्गे, पूर्णिमा तिवारीलगायत कलाकारहरूको अभिनय छ। निर्देशक विशाल चतुर्वेदी हुन्।
अर्को विदेशी फिल्म हलिउडको 'फल २: डेडपोइन्ट' पनि शुक्रबार रिलिज हुँदैछ। बहिनीको मृत्युबाट शोकमा रहेकी ज्याक्स आफ्नी बहिनीकी साहसी साथी लुससँग मिलेर थाइल्यान्डको खतरनाक क्वान पर्वत चढ्न पुग्छिन्। ४ हजार फिटको उचाइमा चट्टान खसेपछि साँघुरो काठको फल्याकमा फसेका उनीहरूले बाँच्नका लागि आफ्नो डरको सामना गर्नुपर्ने हुन्छ। माइकल स्पिरिग र पिटर स्पिरिग निर्देशित फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीको अभिनय छ। यो एडचेन्चर-थ्रिलर जनराको फिल्म हो।
यस्तै, एक्सन-क्राइम ड्रामा 'हैवान' पनि शुक्रबार रिलिज हुँदैछ।
प्रियदर्शन निर्देशित फिल्ममा दृष्टिविहीन मार्सल हार्टस् खेलाडीले एक बालिकालाई मनोरोगी हत्याराबाट जोगाउन गरेको संघर्ष यसको मुख्य कथा हो। यो हिन्दी फिल्ममा सैफ अली खान र अक्षय कुमार मुख्य भूमिकामा छन्।
यसरी यो शुक्रबार नेपाली हलमा कथा र शैलीका हिसाबले फरक-फरक ६ फिल्म दर्शकमाझ आउँदैछन्। अब यीमध्ये नेपाली दर्शकको रोजाइमा कुन फिल्म पर्छ? त्यो भने प्रदर्शनपछि नै स्पष्ट हुनेछ।
यसअघि रिलिज केही नेपाली र विदेशी फिल्म पनि प्रदर्शनरत छन्।
रसुवा बाढी र त्यसपछिको परिस्थितिलाई मध्येजनर गर्दै केही नेपाली फिल्मले भने प्रदर्शन पछि सारेका छन्।