जितु नेपाल र प्रियना आचार्य अभिनीत फिल्म 'कार्की साइँला'को ट्रेलर सार्वजनिक भएको छ।
निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार ट्रेलर युट्युबमा सार्वजनिक गरेको हो। राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ असोज २ गतेदेखि प्रदर्शनमा आउँदैछ।
'मुभिज डिजिटेनमेन्ट'को युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को कथा वरिपरि केन्द्रित छ।
भरियाको काम गर्दै आएका कार्की साइँलाको जीवनमा आइपर्ने संघर्ष, प्रेम, विवाह, सन्तान र गाउँले समाजको हेपाहा प्रवृत्तिलाई ट्रेलरमा देखाइएको छ।
कार्की साइँला आफू मात्रै नभई अरूका लागि समेत लमी बनेर हिँडेको देखिन्छ। गाउँमा आएकी एक युवती (प्रियाना आचार्य)को भारी बोकेर पुर्याएपछि उनले पैसा लिनसमेत अस्वीकार गर्छन्। पछि उनीहरूबीच प्रेम हुँदै विवाह र सन्तान प्राप्तिसम्मको सम्बन्ध विकास भएको ट्रेलरमा देखाइएको छ।
फिल्मले पूर्वी नेपालको परिवेशमा एक भरियाको जीवन, सम्बन्ध, चुनौती र संघर्षलाई भावनात्मक कथामार्फत प्रस्तुत गर्नेछ।
फिल्ममा जितु र प्रियानासहित सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, दिप्सन लिम्बु, कमल देवकोटा, रोडा राई, मेनुका आचार्य, गणेश राजभण्डारी लगायत कलाकारहरूको अभिनय छ।
डम्बर राईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले लेखेका हुन्।
बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्।
डीओपी डम्बर राई, सिनेमेटोग्राफी नारायण गुरूङको रहेको फिल्मको सम्पादन सन्देश शाहले गरेका छन्।