फिल्म 'अक्षरा'को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यही शुक्रबार (भदौ २६)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज स्थगित गरिएको हो।
फिल्मको बुकिङसमेत खुलिसकेको अवस्थामा निर्माताले प्रदर्शनको दुई दिनअघि मिति परिवर्तन गर्ने घोषणा गरेका हुन्।
निर्माताले बुधबार सूचना जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको बताएका छन्। नयाँ मिति अनुसार ‘अक्षरा’ अब मंसिर २४ गतेदेखि प्रदर्शनमा आउनेछ।
'अक्षरा'को प्रदर्शन सरेसँगै शुक्रबार दुई नेपाली फिल्म 'बेहुली' र 'पेन्सन पट्टा' रिलिज हुनेछन्। शुक्रबार केही विदेशी फिल्मसमेत प्रदर्शन तयारीमा छन्।
विनयराज पौडेलको निर्देशनमा बनेको 'अक्षरा'मा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्।
निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना हुन्।
