काठमाडौं उपत्यकाको कला परम्परा केवल संग्रहालयमा सुरक्षित राखिएका पुराना मूर्ति र चित्रमा सीमित छैन। यहाँका देवीदेवताका प्रतिमा, पौभा चित्र, काठका नक्कासी तथा धातुकला आज पनि धार्मिक आस्था, संस्कार र समुदायको जीवनसँग जोडिएका छन्।
यही जीवित परम्परा र कलाको आध्यात्मिक पक्ष उजागर गर्दै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीले 'पवित्र वैभव' नामक प्रदर्शनी आयोजना गरेको छ।
प्रदीप शाक्यले संयोजन गरेको प्रदर्शनीमा काठमाडौं उपत्यकामा पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्परागत कला प्रस्तुत गरिएको छ। धातु, काठ, ढुंगा र चित्रकलामार्फत तयार गरिएका विभिन्न देवीदेवताका कलात्मक स्वरूप यहाँ राखिएका छन्।
प्रदर्शनीमा हिन्दु र बौद्ध परम्पराका देवदेवीलाई एकै ठाउँमा प्रस्तुत गरिएको छ। भैरव र गणेशसँगै अवलोकितेश्वर, तारा तथा वसुन्धराका प्रतिमा देख्न सकिन्छ।
फरक धार्मिक परम्पराका यी प्रतिमामा देखिने मुद्रा, आसन, प्रतीक र कलात्मक शैलीले काठमाडौं उपत्यकामा शताब्दियौंदेखि विकसित हुँदै आएको धार्मिक सहअस्तित्व र सांस्कृतिक सद्भावका कथा सुनाउँछन्।
काठमाडौं उपत्यकाको परम्परागत कला एक हजार वर्षभन्दा लामो समयदेखि परिवार र पुस्ताबीच हस्तान्तरण हुँदै आएको मानिन्छ। धातु ढाल्ने, काठ कुँद्ने, चित्र बनाउने र देवीदेवताका प्रतिमामा सूक्ष्म विवरण भर्ने सीप आजका कलाकारले आफ्ना पुर्खाबाट सिक्दै आएका छन्।
यहाँ राखिएका प्रतिमा केवल सजावटी वस्तु नभई धार्मिक आस्थाका केन्द्र पनि हुन्। पूजा, शृंगार र विभिन्न धार्मिक विधिमा यिनको प्रयोग हुँदै आएको छ। त्यसैले एउटा प्रतिमामा कलाकारको सीपसँगै धार्मिक विश्वास, शास्त्रीय ज्ञान र पुस्तौं पुरानो परम्पराको निरन्तरता जोडिएको छ।
सिद्धार्थ आर्ट ग्यालरीको ३९औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रदर्शनीमा विभिन्न पुस्ताका कलाकार तथा शिल्पीका सिर्जना समेटिएका छन्।
'पवित्र वैभव' ले काठमाडौं उपत्यकाको कला, संस्कृति, धार्मिक सहअस्तित्व र जीवित शिल्प परम्परालाई एउटै दृश्यमा प्रस्तुत गरेको छ।
-1791210619.jpg)
-1791210619.jpg)
-1791210619.jpg)
-1791210619.jpg)
-1791210619.jpg)
-1791210618.jpg)
-1791210618.jpg)
-1791210618.jpg)
-1791210618.jpg)
