झन्डै दुई वर्षदेखि प्रसारण रोकिएको लोकप्रिय हास्य सिरियल 'सक्किगोनि' नयाँ सिजनसहित दर्शकमाझ फर्किने भएको छ।
सिरियलका मुख्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत 'सक्किगोनि सिजन ४' आउने घोषणा गरेका हुन्।
शुक्रबार अर्जुनले लेखेका छन्, 'केही समयको प्रतीक्षापछि सक्किगोनि सिजन ४ आउँदैछ। थप अपडेटहरू केही दिनमै सार्वजनिक गर्नेछौं।'
'सक्किगोनि' प्रसारण रोकिएपछि धेरै दर्शकले सिरियल बन्द भएको अनुमान गरेका थिए। तर, त्यतिबेला सिरियलका निर्देशक तथा कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले ब्रेक मात्रै भएको र बन्द नभएको बताउँदै आएका थिए।
जेपिटी क्रियशनको प्रस्तुतिमा निर्माण हुँदै आएको 'सक्किगोनि' को प्रसारण 'लाज शरणम' फिल्म रिलिजको तयारीसँगै रोकिएको थियो। 'सक्किगोनि' कै टिमले निर्माण गरेको उक्त फिल्म वि.स.२०८१ सालको फागुनमा प्रदर्शनमा आएको थियो।
अब नयाँ सिजन कहिलेदेखि प्रसारण हुनेछ, पुरानै कलाकारको टिम निरन्तर रहनेछ वा नयाँ अनुहार पनि थपिनेछन् भन्नेबारे खुलाइएको छैन। त्यस्तै, यसपटक कुन माध्यमबाट सिरियल प्रसारण हुनेछ भन्ने पनि सार्वजनिक हुन बाँकी छ।
