नेपाल चलचित्र संघको नयाँ अध्यक्षमा युवा हल व्यवसायी तथा निर्माता प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्।
शनिबार राजधानीमा सम्पन्न संघको ५२ औं साधारण सभाले जबरालाई आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष चयन गरेको हो।
अध्यक्ष पदका लागि जबरा र गोपालकाजी कायस्थबीच प्रतिस्पर्धा भएको थियो।
संघको नयाँ कार्यसमितिका सदस्यहरू भने निर्विरोध चयन भएका छन्। चलचित्र प्रदर्शकको खुला समूहबाट आशिष तामाङ, दुर्गालाल प्रधान, मिजास पोखरेल र योगेन्द्र मल्ल ठकुरी सदस्य चयन भएका छन्। त्यस्तै, चलचित्र वितरकको तर्फबाट करण श्रेष्ठ र गोविन्दबहादुर शाही सदस्य बनेका छन्।
प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चैतन्य बराल, बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन्। त्यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको साझा प्रतिनिधिका रूपमा सुर्खेतस्थित लक्ष्मी हलका सञ्चालक डा. सिंह गुरुङ चयन भएका छन्।
नेपाल चलचित्र संघ नेपाली चलचित्रका प्रदर्शक तथा वितरकहरूको छाता संस्था हो। नयाँ नेतृत्वसँगै चलचित्र प्रदर्शन तथा वितरण व्यवसायका समस्या र चुनौती समाधानका साथै समग्र नेपाली चलचित्र क्षेत्रको विकासमा थप पहल हुने अपेक्षा गरिएको छ।