आजदेखि हलमा दुई नयाँ फिल्म थपिएका छन्। फ्राइडे रिलिजको अवसर पारेर शुक्रबारदेखि 'जलाकी' र 'हिमालयन गोल्ड' रिलिज भएका हुन्।
यी दुवै फिल्म फरक कथावस्तु र जनरामा बनेका छन्।
अशोक थापा मगर निर्देशित 'जलाकी'ले प्रेम र सांस्कृतिक पहिचानको कथामा आधारित छ। यसले प्रेम, आशा, त्याग र संघर्षको कथालाई प्रस्तुत गरेको छ। मगर समुदायको सांस्कृतिक पहिचानलाई समेत नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास फिल्ममा गरिएको निर्माणपक्षले जनाएको छ।
भावनात्मक प्रेमकथा, आकर्षक दृश्य र कथावाचनमार्फत दर्शकको मन जित्ने अपेक्षा गरिएको फिल्ममा सोनाम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, सहारा हाङ्मा लिम्बूलगायत कलाकारको अभिनय छ। फिल्मको रनटाइम २ घण्टा ५० मिनेट छ।
त्यस्तै, धिराज राजवंशी निर्देशित 'हिमालयन गोल्ड' थ्रिलर तथा ड्रामा जनरामा निर्माण भएको फिल्म हो। यसले हिमाली क्षेत्रको परिवेशमा यार्सागुम्बाको लोभ तथा त्यसले निम्त्याउने संघर्षको कथा भन्नेछ।
यसमा यार्सागुम्बाको लोभमा लुटपाट गर्दै हिँड्ने चारजना लुटेराको कथा प्रस्तुत गरिएको छ। यही समूहको निशानामा एक युवतीको परिवार परेपछि आफ्नो परिवार र बहुमूल्य यार्सागुम्बा जोगाउन ती युवतीले गर्ने संघर्ष, साहस र बदला फिल्मको मुख्य कथावस्तु हो।
फिल्ममा सुनील थापा, परीक्षा लिम्बू, साजन थापा, कर्मा, मेनुका प्रधान, राहुल एन मुखिया, अंकित खड्का, सुनिल तामाङलगायत कलाकारको अभिनय छ। २ घण्टा १८ मिनेट रनटाइम रहेको यो फिल्म नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको हो।
'हिमालयन गोल्ड'लाई भारतमा प्रतिष्ठित वितरण कम्पनी एए फिल्म्सले वितरण गरेको छ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरणको जिम्मेवारी लिएका छन्।
एकातिर प्रेम र सांस्कृतिक पहिचानको कथा बोकेको 'जलाकी' छ भने अर्कोतिर थ्रिलर र पारिवारिक संघर्षलाई समेटेको 'हिमालयन गोल्ड'। फरक स्वादका यी दुई फिल्मले दर्शकलाई आ-आफ्नो रूचिअनुसारको विकल्प दिएका छन्।
अब दर्शकको रोजाइमा कुन फिल्म पर्छ र बक्स अफिसमा कसले बाजी मार्ला? त्यसको नतिजा भने आगामी दिनको व्यापारले देखाउनेछ।