माओत्से गुरूङ निर्देशित फिल्म 'पेन्सन पट्टा'ले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढी कमाइ गरेको छ।
चलचित्र विकास बोर्डको पछिल्लो बक्स अफिस रिपोर्टअनुसार फिल्मले आइतबारसम्म १० करोड १७ लाख ७३ हजार ८२८ रूपैयाँ ग्रस व्यापार गरेको हो।
'पेन्सन पट्टा' यस वर्षको धेरै कमाउने दोस्रो नेपाली फिल्म बनिसकेको छ। यो वर्ष १० करोड रूपैयाँभन्दा बढी कमाइ गर्ने फिल्म पनि यही दोस्रो हो।
यो वर्ष धेरै कमाइ गर्ने फिल्मको शीर्ष स्थानमा 'गौंथली' छ। बोर्डको विवरणअनुसार फिल्मले २६ करोड २ लाख ८७ हजार ६९० रूपैयाँ ग्रस कलेक्सन गरेको छ।
'पेन्सन पट्टा'ले कमाइमा यसअघि नै 'लालीबजार'लाई उछिनिसकेको छ। 'लालीबजार'ले ९ करोड ३२ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको थियो।
बोर्डको विवरणअनुसार 'पेन्सन पट्टा' को अहिलेसम्म ३ लाख ५९ हजार १९४ वटा टिकट बिक्री भएका छन्। भदौ २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले पेन्सन जीवन, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थका विषयलाई कथामा समेटेको छ।
फिल्ममा दयाहाङ राई, गौमाया गुरूङ, विल्सन विक्रम राई, पशुपति राई, बुद्धि तामाङ, विश्वास गुरूङलगायत कलाकारको अभिनय छ।
बोर्डले सोमबार ८ नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो।
विवरणअनुसार यस्तो छ अन्य फिल्मको कमाइ:-
बा एक योद्धा: ३ करोड ४५ लाख १८ हजार ७९८ रूपैयाँ
पार्वती: २ करोड २९ लाख ८८ हजार ९२३ रूपैयाँ
आचार्य: १ करोड ६२ लाख ९१ हजार १८६ रूपैयाँ
झिंगेदाउ २: १ करोड ४६ लाख ३० हजार ५६६ रूपैयाँ
एलिफेन्टस् इन द फग: १ करोड ३१ लाख ८७ हजार ८४५ रूपैयाँ
अक्षरा: १० लाख २९ हजार २०६ रूपैयाँ