'कबड्डी ४' अर्थात् 'द फाइनल म्याच'पछि काजीको कथा सकिएको हो त? फिल्मको नामले त त्यस्तै संकेत गर्थ्यो। तर काजीको कथाले 'फाइनल म्याच'मै पूर्णविराम पाएन। त्यसपछि पनि अर्को फिल्म बन्यो, 'कबड्डी: आफ्टर द फाइनल म्याच' अर्थात् 'कबड्डी ५'।
यो वर्षकै प्रतीक्षित नेपाली फिल्ममध्ये एक मानिएको 'कबड्डी ५' अब दसैंको टीकाको पर्सिपल्ट अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।
प्रदर्शनको तीन दिनअघि नै मंगलबारदेखि फिल्मको अग्रिम टिकट बिक्री खुलिसकेको छ। मल्टिप्लेक्सहरूले शो तालिका सार्वजनिक गर्दै अग्रिम टिकट बिक्री खुलाएका हुन्।
दसैंको अवसर पारेर तीन नेपाली फिल्म प्रदर्शनमा आइसकेका बेला हलमा थपिन लागेको 'कबड्डी ५'ले राम्रो शो पाएको छ। ठूला मल्टिप्लेक्स चेनले फिल्मलाई उल्लेख्य शो छुट्याएका छन्।
क्यूएफएक्सले 'कबड्डी ५'लाई काठमाडौं उपत्यकाभित्रका आफ्ना हलमा २६ शो दिएको छ। उपत्यकाबाहिरका हलमा २३ शो छुट्याएको छ।
त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले फिल्मका लागि २० शो छुट्याएको छ। अन्य केही मल्टिप्लेक्सले पनि अग्रिम टिकट बिक्री खुलाइसकेका छन् भने कतिपयले शो तालिका सार्वजनिक गर्न बाँकी छ।
रामबाबु गुरूङ निर्देशित 'कबड्डी ५'मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, सिर्जना गुरूङ, रिश्मा गुरूङ, मिरूना मगरलगायत कलाकारको अभिनय छ।
'कबड्डी ५'को कथा के हो?
'फाइनल म्याच'पछि काजीको जीवनले कस्तो मोड लिन्छ? 'कबड्डी ५'ले उनको जीवनको नयाँ अध्यायको कथा भन्नेछ।
नयाँ सपना र जिम्मेवारी बोकेर अघि बढिरहेका काजीको संसारमा पुराना अनुहार फर्किन्छन् भने नयाँ पात्र पनि थपिन्छन्। सबैका आ-आफ्नै चाहना र उद्देश्य छन्। उनीहरूको आगमनसँगै काजीले अप्रत्याशित चुनौती सामना गर्नुपर्ने हुन्छ।
आखिर काजीका नयाँ सपना के हुन् र यसपटक उनको जीवनमा कस्ता उल्झन थपिन्छन्? त्यसका लागि भने फिल्म नै हेर्नुपर्नेछ।