रामबाबु गुरूङ निर्देशित फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' प्रदर्शनमा आएको छ। 'कबड्डी' शृंखलाको यो पाँचौं फिल्म शुक्रबारदेखि देशभरका सिनेमा हलमा रिलिज भएको हो।
दसैंको अवसरमा यसअघि 'आबाट आमा २', '१२ गाउँ २' र 'छ माया छपक्कै २' प्रदर्शनमा छन्। यी तीन नेपाली फिल्मपछि हलमा थपिएको 'कबड्डी ५'ले देशभरका हलमा २ सय ४० हाराहारी शो पाएको छ। ठूला मल्टिप्लेक्स चेनहरूले पनि फिल्मलाई उल्लेख्य शो दिएका छन्।
प्रदर्शनको तीन दिनअघि मंगलबारदेखि नै फिल्मको अग्रिम टिकट बिक्री खुलाइएको थियो। बुकिङ खुल्नेबित्तिकै दर्शकले फिल्मलाई लिएर चासो देखाएका थिए। शुक्रबार बिहानसम्म आजका आधा भन्दा धेरै शो हाउसफुल भएका छन्।
उल्लेख्य शो संख्या र अग्रिम टिकट बुकिङमा देखिएको उत्साहले फिल्मले शुक्रबार राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ।
'फाइनल म्याच'पछि काजीको जीवनमा के हुँदैछ?
यसअघि फिल्म 'कबड्डी ४'लाई 'द फाइनल म्याच' भनिएको थियो। नामले नै काजीको कथा सकिएको संकेत गथ्र्यो। तर कथा त्यहीँ रोकिएन। बन्यो- 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'।
आखिर 'फाइनल म्याच'पछि काजीको जीवनमा के हुँदैछ त? नयाँ योजना र जिम्मेवारी बोकेर अघि बढिरहेका काजीको संसारमा पुराना अनुहार फर्किंदैछन्, नयाँ पात्र पनि थपिँदैछन्। सबैका आ-आफ्नै चाहना र उद्देश्य छन्। तिनै पात्रको आगमनले काजीको जीवनमा नयाँ उल्झन र अप्रत्याशित चुनौती थप्नेछ।
दयाहाङ राई काजी, विजय बराल बिके र बुद्धि तामाङ छन्त्यालकै भूमिकामा निरन्तर छन्। चौथो शृंखलाकी अभिनेत्री मिरूना मगर पनि दोहोरिएकी छन् भने अघिल्ला शृंखलामा देखिएकी रिश्मा गुरूङ फर्किएकी छन्। अनि यसपटक सिर्जना गुरूङ नयाँ सोल्टिनीका रूपमा भित्रिएकी छन्। अभिनेता विपिन कार्कीको पनि यो शृंखलामा प्रवेश भएको छ।
अब पुराना र नयाँ पात्रको उपस्थितिले काजीको जीवनमा कस्तो मोड ल्याउला? उनका नयाँ योजना सफल होलान् वा फेरि कुनै उल्झनमा फस्लान्? यसको जबाफ भने फिल्ममै भेटिनेछ।
'कबड्डी ५'ले केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने युनिभर्सल सर्टिफिकेट पाएको छ। फिल्मको रनटाइम २ घण्टा २५ मिनेट तय छ।