रामबाबु गुरूङ निर्देशित फिल्म 'कबड्डी ५: आफ्टर द फाइनल म्याच'ले प्रदर्शनको दुई दिनमै 'सुपरहिट'को ट्याग पाएको छ।
देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले आइतबार बिहान आफ्नो आधिकारिक वेबसाइटमार्फत फिल्मलाई ‘सुपरहिट’ घोषणा गरेको हो। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले क्यूएफएक्सका हलहरूमा दुई दिनमै डेढ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेपछि यो मान्यता पाएको हो।
क्यूएफएक्सले प्रदर्शनको पहिलो सातामा आफ्ना हलहरूबाट १ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने फिल्मलाई 'सुपरहिट'को मान्यता दिने गरेको छ। त्यस्तै, दुई सातामा २ करोड ५० लाख रूपैयाँभन्दा बढी कमाइलाई पनि यसको आधार मान्ने गरिएको छ। यस आधारमा 'कबड्डी ५'ले पहिलो सातासमेत पूरा नहुँदै उक्त मापदण्ड पार गरेको हो।
यसअघि यसै वर्ष प्रदर्शनमा आएका 'गौंथली' र 'पेन्सन पट्टा'ले दोस्रो सातामा मात्रै क्यूएफएक्सबाट 'सुपरहिट'को मान्यता पाएका थिए।
प्रदर्शनको सुरूआतदेखि नै उत्साहजनक व्यापार गरिरहेको फिल्मका अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ। निर्माण पक्षले फिल्मले दुई दिनमा देशभर तीन करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको अनुमान गरेको छ। यद्यपि, यो आधिकारिक बक्स अफिस तथ्यांक भने होइन।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको 'कबड्डी ५'मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरूङ, विपिन कार्की, मिरूना मगर, रिश्मा गुरूङलगायतको अभिनय छ।
फिल्ममा निर्देशक गुरूङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ।