यस वर्ष दसैंमा प्रदर्शनमा आएका 'आबाट आमा २', 'छ माया छपक्कै २' र '१२ गाउँ २' कस्तो चले?
सामाजिक सञ्जालमा कतै दर्शक अपेक्षा अनुसार नआएको चर्चा थियो, कतै फिल्म सुपरहिट भएको दाबीसमेत देखिन्थ्यो। आखिर यी फिल्मको वास्तविक व्यापार कस्तो रह्यो त?
अघिल्ला भागको ठूलो सफलता, दसैंको लामो बिदा र सिक्वेलप्रतिको दर्शकको चासोका कारण तीनवटै फिल्मबाट ठूलो व्यापारको अपेक्षा गरिएको थियो। तर के यी फिल्मले अघिल्ला भागको सफलता दोहोर्याउन सके त?
यसको जबाफका लागि चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको यी फिल्मको पहिलो आधिकारिक बक्स अफिस रिपोर्ट हरौं।
रिपोर्ट अनुसार तीनवटै फिल्मको सुरूआती व्यापार अघिल्ला भागको तुलनामा कमजोर देखिन्छ।
त्यसो भए कमाइमा कुन अगाडि रह्यो, कुन पछाडि? अनि कुनले कति कमायो?
कात्तिक ८ गतेसम्मको रिपोर्ट अनुसार फिल्म 'आबाट आमा २' करिब ४ करोड ११ लाख ४६ हजार ४८४ रूपैयाँ ग्रस कलेक्सनसहित तीन फिल्ममध्ये अगाडि देखिएको छ। प्रदर्शनको १० दिनमा फिल्मले उक्त कमाइ गरेको हो। यसको १ लाख ३१ हजार ४९१ वटा टिकट बिक्री भएका छन्।
दोस्रो स्थानमा फिल्म 'छ माया छपक्कै २' छ। यसले प्रदर्शनको ९ दिनमा करिब २ करोड ७६ लाख ३९ हजार ६५ रूपैयाँ ग्रस कमाएको छ। फिल्मको ८२ हजार ७५९ वटा टिकट बिक्री भएका छन्।
त्यस्तै, '१२ गाउँ २' ले १० दिनमा १ करोड ८३ लाख ९४ हजार ८८६ रूपैयाँ ग्रस कमाएको छ। यसको टिकट बिक्री संख्या ५७ हजार ९८३ छ।
तीनवटै फिल्मको कुल ग्रस कमाइ ८ करोड ७१ लाख ८० हजार रूपैयाँ पुगेको छ।
चन्द्र पन्त निर्देशित 'आबाट आमा २' मा पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठलगायत कलाकार छन्। यसको अघिल्लो भाग 'आबाट आमा' ले १३ करोड २० लाख रूपैयाँ ग्रस कमाएको थियो। अघिल्लो भागको सफलताले बढाएको अपेक्षाअनुसार सिक्वेलको व्यापार भने कमजोर देखिएको छ।
त्यस्तै, दीपेन्द्र लामाको निर्देशनमा बनेको 'छ माया छपक्कै २' मा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य, रिहान गिरीलगायत कलाकार छन्।
यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ ले ९ करोड ९२ लाख रूपैयाँ ग्रस कमाएको थियो।
पहिलो भागको व्यापारिक सफलता, दीपक-दीपा समूहको फिल्मलगायत कारण चर्चामा रहेको सिक्वेलको कमाइ भने अहिलेसम्म अघिल्लो भागको तुलनामा निकै कम छ।
यता, विराज भट्ट निर्देशित '१२ गाउँ २' मा विराजसँगै समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी, सुनिल पोखरेल लगायतको अभिनय छ। यसको अघिल्लो भाग '१२ गाउँ'ले १९ करोड ९२ लाख रूपैयाँ कमाएको थियो। तीन सिक्वेलमध्ये अघिल्लो भागसँगको कमाइको अन्तर यस फिल्ममा अझ ठूलो देखिएको छ।
'आबाट आमा २' र '१२ गाउँ २' असोज ३० गतेदेखि प्रदर्शनमा आएका थिए भने 'छ माया छपक्कै २' असोज ३१ गतेदेखि हलमा लागेको थियो। तीनवटै फिल्म अहिले दोस्रो सातामा छन्।
यसैबीच, शुक्रबारदेखि 'कबड्डी ५: आफ्टर द फाइनल म्याच' प्रदर्शनमा आएसँगै यी सिक्वेलका शो संख्या खुम्चिएका छन्।
अघिल्ला भागको सफलता दोहोर्याउने अपेक्षासहित आएका यी फिल्मले सुरूआती दिनमा त्यही रफ्तार समात्न सकेनन्।
अब घटेका शोकाबीच बाँकी प्रदर्शन अवधिमा व्यापार कति अगाडि बढाउँछन् भन्ने चासो छ।