चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त मनिष पण्डितले सोमबार पदभार ग्रहण गरेका छन्।
बोर्डको कार्यालय पुगेका पण्डितलाई कर्मचारी तथा पदाधिकारीले फूलमालासहित स्वागत गरेका थिए। उनले सोमबार नै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नियुक्तिपत्र बुझ्दै पद तथा गोपनीयताको शपथसमेत लिएका थिए।
असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
फिल्म निर्माता तथा लेखकसमेत रहेका पण्डितले यसअघि बोर्डमा विज्ञ तथा सल्लाहकारका रूपमा काम गरेका थिए। सिनेमा हलमा बक्स अफिस प्रणाली र ई-टिकेटिङ लागू गर्ने प्रक्रियामा समेत उनी संलग्न थिए।