गायक यश कुमारले नयाँ गीत 'हल्का हल्का' सार्वजनिक गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच म्युजिकल फिल्मको रूपमा तयार पारिएको यो गीतको भिडिओ रिलिज गरिएको हो। गायक यश कुमारको शब्द रचना तथा संगीत रहेको यो गीतमा स्मिता प्रधानको स्वर छ।
आयोजित कार्यक्रममा अग्रज फिल्म निर्देशक तुलसी घिमिरे प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।
निर्देशक घिमिरेले आफू गायक यश कुमारको काम गर्ने तरिकाबाट प्रभावित भएको बताए।
'म पनि धेरै समयपछि फिल्म निर्देशनमा कमव्याक गर्दैछु। त्यसका लागि पनि मैले आजको कार्यक्रममा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएँ', उनले भने, 'यो गीतकी गायिका स्मिता प्रधान दार्जिलिङको कालिङपोङबाट काठमाडौं आएर गायनमा जमेको देख्दा खुशी लाग्यो। उहाँको भविष्य उज्वल देखेको छु।'
गीतको एरेञ्ज र मिक्सिङ देवेस राईले गरेका हुन्। यो गीतको भिडिओमा यश र स्मिताले नै मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीहरूसँगै राजेश घतानी, दिपेन्द्र सोनम, सुगत करनजीत, तुलसा लिम्बु र सुदीप सोनमको अभिनय रहेको छ। भिडिओको निर्देशन यश कुमारले नै गरेका हुन्।
हरि हुँमागाईले खिचेको गीतको भिडिओमा विकास धमलाको सम्पादन तथा कलर छ। यश कुमारले आफ्नै युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरेका छन्।