अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक 'पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस' को आयोजना हुने भएको छ।
शनिबार आयोजना हुने कार्यक्रमको लागि चर्चित गीत 'सुनियान सुनियान' का पञ्जाबी गायक मिक्ससिंह जस नेपाल आइपुगेका छन्।
उनी काठमाडौं आएसँगै आयोजित पत्रकार सम्मेलनमा मिक्ससिंहले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए।
शनिबार साँझ ठमेलस्थित क्लब नोभामा करिब चार घण्टासम्म उनले दर्शक झुमाउने छन्। त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० प्रस्तुति रहने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
पञ्जाबी पप नाइटको आयोजना स्किलमाण्डु नेपालले गरेको हो। यो कार्यक्रमका लागी आम दर्शकलाई १ हजारको टिकट राखिए पनि भीआइपी २ हजार र ग्रुपका लागि ५ हजार टिकट दर तय गरिएको छ। गायक मिक्ससिंहले नेपाली खाना र पर्यटन प्रवद्र्धनका लागि आफ्नो भम्रण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
'आफ्नो सुपरहिट गीत 'सुनियान सुनियान' मा करिब ३० प्रतिशत नेपाली फ्यानको प्रतिक्रिया आएकाले पनि मलाई नेपाल आउने इच्छा बढाएको थियो,' उनले भने, 'म अबको तीन दिन नेपाल बसाईँमा पशुपतिनाथ दर्शन, काठमाडौंका पुरातात्विक सम्पदा र सगरमाथा बेस क्याम्प घुम्ने योजना छ। यहाँको मौसमले साथ दिन्छ कि दिन्न, त्यसले सगरमाथा हेर्ने सपना निर्धारण हुनेछ।'
यस्तै, आफूले थुप्रै नेपाली गीत पनि सुन्ने गरेकाले नेपाली संगीतप्रति समेत झुकाव बढेको उनले बताए।
आफ्नो आगामी गीतको नेपालमा छायांकन गर्नेदेखि ट्युनिङ मिलेको खण्डमा नेपाली संगीतकार तथा गायक/गायिकासँग सहकार्यको इच्छा समेत उनले व्यक्त गरे।