युवापुस्तामाझ चर्चित गायक तथा सर्जक यावेश थापाको नयाँ गीत 'फिरफिरे' सार्वजनिक भएको छ।
मंगलबार यावेशको युट्युबमा आधिकारिक म्युजिक भिडिओसहित सार्वजनिक गीतलाई उनले करिब ६ वर्षपछि दर्शक/स्रोतामाझ ल्याएका हुन्। यावेश स्वयंको लेखन, संगीत र स्वर रहेको 'फिरफिरे' शुद्ध प्रेम स्मृति र भावनात्मक गहिराइको गीत हो।
लामो समयपछि सार्वजनिक यो गीत आफ्ना लागि भावनात्मक रूपमा निकै नजिक रहेको समेत यावेशले उल्लेख गरेका छन्।
प्रेमको सरलता, आत्मियता र समयसँगै बगेका भावनाहरूलाई गीतमा प्रस्तुत गरिएको छ। भिडिओमा यावेश स्वयं देखिएका छन्।
गीतको संगीत संयोजनमा बाँसुरी श्रीजन महर्जनले बजाएका छन्। ड्रम र अतिरिक्त तालवाद्य बिकेश बज्रको छ भने मिक्सङ र मास्टरिङको काम कोबिद बज्रले गरेका हुन्।
क्लासएक्सको प्रस्तुति रहेको गीतको भिडिओ 'नोइजी' ले तयार पारेको हो।
'फिरफिरे' ले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ।