विश्वभर प्रेमीप्रेमिका प्रेम दिवसमा रमाइरहेको बेला तनहुँको चिटिक्क पहाडी बस्ती बन्दीपुरमा शनिबार बेग्लै रौनक थियो।
देशका तीन सहरमा भव्य कन्सर्ट गरेर बन्दीपुर आइपुगेको लोकरक ब्यान्ड नेपथ्यले दर्शकको घुइँचोबीच तन्नेरी मनका गीतहरू गुन्जाउँदै थियो।
निर्धारित समयमै सुरू भएको कार्यक्रममा साँझको चिरपरिचित सिरसिरे हावा चल्न थालेको थियो। मञ्चमा उक्लिएका ब्यान्ड सदस्यहरूले पहिलो कोसेलीस्वरूप 'हो रामा रामा' प्रस्तुत गरे।
परसम्मका बस्तीहरू जोडेर तयार भएको यो सिंगो गाउँपालिकाकै जनसंख्या करिब १९ हजार छ। नेपथ्य हेर्न आउने दर्शकको संख्या त्यसको एकतिहाइ जति देखिन्थ्यो। शनिबार साँझ बन्दीपुरमा जुटेका दर्शकमध्ये अन्यत्रबाट आएकाहरूकै बाहुल्य थियो।
यहाँ विदेशी दर्शकको उपस्थिति पनि बाक्लै देख्न सकिन्थ्यो। तिनैमध्ये जोसेफ र एलिभियाको तन्नेरी जोडी पनि थियो। बेलायतबाट बिदामा घुम्न आएका उनीहरू पोखराबाट काठमाडौं फर्कने क्रममा एक दिनअगाडि मात्र बन्दीपुर पुगेका थिए।
'यो रमाइलो ठाउँमा घुम्दै गर्दा कन्सर्टको पोस्टर देखेपछि हामी बसेको होटल ओल्ड इनका कर्मचारीसँग जिज्ञासा राख्यौं', जोसेफले भने, 'लोकभाकामा आधारित गीत गाउने पुरानो रक ब्यान्ड हो भन्ने जानकारी पाएपछि तत्कालै टिकट लिएर यता आएका हौं।'
उनीहरू कार्यक्रम अवधिभर उत्साहका साथ रमाइरहेका देखिन्थे।
'यस्तो राम्रो समूहले हाम्रै सहरको वेम्बली एरिनामा दुईपटक शो गरिसकेको जानकारी पनि पायौं', उनीहरूले भने, 'अब लन्डनमा नेपथ्य आयो भने थप साथी लिएरै उताको शो पनि हेर्न जाने निधो गरेका छौं।'
कन्सर्ट हेर्न आउने सबै विदेशी जोसेफ र एलिभियाजस्ता पनि थिएनन्। एक यस्ता विदेशी तन्नेरी पनि थिए, जसको नजिक पुगेर दर्शकले सेल्फी खिचिरहेको देखियो।
'यी प्रसिद्ध भ्लगर ज्याक दाइ हुन्', उनीतर्फ बढ्दै गरेकी एक युवतीले उनको परिचय दिइन्, 'नेपाली प्रस्ट बोल्ने भएकाले असाध्यै लोकप्रिय छन्।'
प्रशंसकबाट फुर्सद पाउनासाथ ज्याक दाइले नेपथ्य कन्सर्टबारे प्रतिक्रिया दिए, 'मैले १३ वर्षअघि पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको थिएँ’, २२ वर्षदेखि नेपालमै बस्दै आएका उनले भने, ‘यस ब्यान्डको कन्सर्टमा अहिलेसम्म गरेर चारपटक उपस्थित भएको छु, अहिले पनि उत्तिकै ऊर्जा महसुस भइरहेको छ।'
साथी उत्सव सापकोटाको निम्तो पाएपछि पोखराबाट शनिबारै बन्दीपुर आएको जानकारी पनि उनले दिए। यता कार्यक्रम अगाडि बढ्दै गएको थियो।
'आज प्रेम दिवस भएकाले मलाई पनि मेरा कलेजका दिनहरू याद आइरहेका छन्', मञ्चमा गायक अमृत गुरूङ भनिरहेका थिए, 'हामी तन्नेरी हुँदा लेखेको नेपथ्यको पहिलो गीत तपाईंहरूलाई सप्रेम प्रस्तुत गर्दै छु।'
त्यसपछि उनले 'आँगनैभरि' गाएर सुनाए। मैदानभरि उपस्थित युवकयुवतीले हुटिङ गर्दै साथ दिए।
'मोटर यातायात नचल्दा सिंगो गण्डक भेगका बासिन्दालाई भारतसँग जोड्ने यो नाकाको बस्ती एक समय यौवन हराएको ठाउँजस्तो नीरस भेटेको थिएँ', गायक अमृतले बन्दीपुरको अनुभव साटे, 'पछि यहाँका बासिन्दा आफैँ जागेर यो बजारलाई फेरि पर्यटकीय बस्तीका रूपमा गुलजार बनाए । यसको प्रेरणा देशभरि फैलियोस् भन्ने कामना गर्छु।'
कन्सर्टमा स्थानीय भाका सुनाउने जमर्को गर्दै नेपथ्यले लोकभाका ‘कौडा’ मा आधारित गीत 'जोगले हुन्छ भेट' गुन्जायो।
दर्शकदीर्घामा ७५ वर्षीय शम्भु कार्की पनि रमाइरहेका थिए। लमजुङको सुन्दरबजारका उनले सानैदेखि कौडा सुन्दै आएका रहेछन्।
'हामीले सुनेका कौडा गीतमा समूहले गाउँथ्यो र अलिक बेग्लै हुन्थ्यो', हाल दमौलीमा बसोबास गर्दै आएका शम्भुले टाउकाको ढाकाटोपी मिलाउँदै प्रतिक्रिया दिए, 'यहाँ एकै जनाले गाइरहेको र अलिक बेग्लै पाराको भए पनि मलाई उत्तिकै रमाइलो लागिरहेको छ।'
कन्सर्ट हेर्न आउनेहरूमा बन्दीपुर क्याम्पसमा २७ वर्षसम्म अध्यापन गरेका पूर्वक्याम्पस प्रमुख विक्रम पिया पनि थिए।
'नेपालको ग्रामीण सौन्दर्य अनुभव गर्न आउने पर्यटकलाई यस बजारले आकर्षित गर्दै आएको थियो', पत्नीसहित अन्तिमसम्मै रमाइरहेका पियाले थपे, 'यो भव्य कन्सर्टको आयोजनासँगै अब सांगीतिक गतिविधिमा रमाउने केन्द्रका रूपमा पनि बन्दीपुरको सम्भावना खुलेको छ।'
पियाका अनुसार बजारभित्रै सानातिना सांगीतिक कार्यक्रम यसअघि पनि आयोजना हुँदै आएको थियो, टुँडिखेलको मैदानमै यस किसिमको भव्य कार्यक्रम भएको भने यो पहिलो पटक हो।
ब्यान्डले दुई घण्टासम्म लगातार १७ गीत सुनाएको थियो। ब्यान्डको प्रस्तुति राष्ट्रिय झन्डाको महिमागान गर्दै 'रातो र चन्द्रसुर्जे' बाट अन्त्य भएको थियो।
मञ्चमा अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरूङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
'कन्सर्टमा बाहिरबाट आएका दर्शकको व्यापक उपस्थितिले हामीलाई भविष्यमा फेरि यस्तै ठूलो कार्यक्रम आयोजना गर्ने हौसला मिलेको छ', स्थानीय आयोजक 'खड्गदेवी बन्दीपुर युथ क्लब' का मनु गुरूङले भने, 'यति सानो ठाउँमा यति धेरै दर्शकलाई कसरी व्यवस्थित तवरले मनोरञ्जन प्रदान गर्न सकिन्छ भनेर सिक्ने मौका पनि हामीले पाएका छौं।'
बन्दीपुरको प्रस्तुति सम्पन्न भएसँगै नेपथ्यको यसपालिको नेपाल यात्रा शृंखला पूरा भएको छ। अब आगामी नोभेम्बरमा नेपाल यात्राको अर्को शृंखला गर्ने तयारी छ। हाल भने सात ट्रक, एउटा बस र अन्य केही सवारीसाधन सहितको ७५ सदस्यीय नेपथ्य टोली काठमाडौं फर्किसकेको छ।
ब्यान्डको अबको प्रस्तुति भारतीय सहर सिलिगुडीमा दुई सातापछि हुनेछ। फेब्रुअरी २८ मा त्यहाँस्थित ‘उत्सोधारा टिस्टा टाउनसिप’ मा नेपथ्यले नेपाली लोकरक गीत सुनाउनेछ। पश्चिम बंगाल राज्यका पहाडी बस्तीहरूलाई जोड्ने उक्त 'बिसौनी महानगर' मा ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको हो। दर्शक सुविधालाई ध्यानमा राख्दै उक्त कन्सर्टका लागि अनलाइन टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।


