चिनियाँ नयाँ वर्षको अवसरमा हङकङमा १८ औं 'एलजी फेस्ट २०२६' आयोजना हुने भएको छ।
हङकङमा क्रियाशील नेपाली संस्था लालीगुराँस एसोसिएसन (एलजी)ले फेब्रुअरी १८ (बुधबार) युनलङस्थित ताई तोङ अर्गानिक इको पार्कमा कार्यक्रम गर्न लागेको हो।
एलजी नाइटका रूपमा सुरू भएको कार्यक्रम गत वर्षदेखि 'एलजी फेस्ट' का रूपमा आयोजना हुँदै आएको छ। आयोजकमध्येका चेतन गुरूङका अनुसार यस वर्षको ओपन कन्सर्टमा बलिउडका स्टारहरूसँगै नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ। गायक सज्जन राज वैद्यले यस पटक समूहमा प्रस्तुति दिनेछन्।
मंगोलियन हर्ट, कुमः सागर एन्ड द ख्वप, पूर्ण राई एन्ड दाजुभाइ, दुर्गेश थापा, शान्तारानी परियार, आश्मा विश्वकर्मालगायत ५८ कलाकार सहभागी हुने जनाइएको छ।
सन् २००४ मा स्थापना भएको लालीगुराँस एसोसिएसनले युके, अस्ट्रेलिया, अमेरिका, मकाउ र जापानमा समेत सांगीतिक कार्यक्रम गर्दै आएको छ। आयोजकका अनुसार जुन २०२६ मा युके तथा नोभेम्बरमा अस्ट्रेलिया र अमेरिकामा पनि एलजी फेस्ट आयोजना गरिनेछ।
विदेशमा नेपाली कला–संस्कृतिको संरक्षण र नेपाल-हङकङ मैत्री सम्बन्ध सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्। बुधबार हुने 'एलजी फेस्ट' का लागि कलाकारहरू हङकङ पुगिसकेका छन्।