गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई 'सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति' भनेर उल्लेख गरिएकोप्रति आपत्ति जनाएका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले सत्यता बुझ्ने उद्देश्यले एउटा जिज्ञासामूलक पोस्ट लेखेको बताएका छन्।
शिवले लेखेका छन्, 'उक्त पोस्ट कुनै पनि प्रकारको पुष्टि, दाबी, भ्रामक सूचना प्रवाह वा प्रचार गर्ने उद्देश्यले नभइ नेपालको संविधानमा सुरक्षित नागरिकको सही सूचना पाउने मौलिक हक प्रयोग गर्दै केवल सामाजिक सञ्जालमा तत्कालीन समयमा फैलिएको खबरको सत्यता बुझ्ने जिज्ञासामूलक प्रश्न मात्र थियो।'
उनका अनुसार उक्त पोस्टमा प्राप्त प्रतिक्रियाबाट खबर गलत भएको थाहा पाएपछि तुरून्तै पोस्ट हटाएको उल्लेख गरेका छन्। तर केही फेसबुब पेज, ग्रुप र सञ्चारमाध्यमले उक्त पोस्टलाई बङ्ग्याएर ‘भ्रम फैलाउने’ आरोप लगाएको उनको भनाइ छ।
'हाल सोही समयमा प्रकाशित समाचार सामग्रीहरू र ती समाचारकै आधारमा उठेका आरोपहरूलाई आधार मानी गौरीबहादुर कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदनमा मलाई 'सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति' का रूपमा उल्लेख गरिएकोमा म अत्यन्त दुःखका साथ गम्भीर आपत्ति प्रकट गर्दछु,' शिवले लेखेका छन्।
उक्त आरोपले आफ्नो व्यक्तिगत प्रतिष्ठा र कलाकारको छविमा गम्भीर आघात पुर्याएको उनले बताएका छन्।
उनले नेपाल सरकार तथा सम्बन्धित निकायसमक्ष उक्त आरोपमाथि पुनर्विचार गर्न र आफूमाथि भएको अन्याय सुधार्न अनुरोध गरेका छन्।
शिवले त्यसबेला आफूले लेखेको स्टाटसको स्क्रिनसट पनि सार्वजनिक गरेका छन्।