सानो उमेरमै चर्चा कमाउन सफल गायक अशोक दर्जी ८ वर्षपछि आफ्नो परिवारको जिम्मेवारीमा फर्किएका छन्।
गायक तथा संगीतकार टंक बुढाथोकीको परिवारसँग रहेर संगीत र सिनेमा अभिनयसम्मको यात्रा गरेका अशोक केही महिनादेखि झापामा आफ्नो परिवारसँग बस्दै आएका छन्। त्यहीँ बसेर उनले आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन्।
टंक बुढाथोकीले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै यो जानकारी दिएका हुन्।
उनले लेखेका छन्, 'अब अशोक दर्जी बाबु आफ्नै परिवारको निर्णय अनुसार, जिम्मेवारीसहित आफ्नो भविष्य र परिवारका लागि अगाडि बढ्न सक्षम भएका छन्।'
टंक बुढाथोकीले अशोक दर्जीलाई ८ वर्षसम्म आफूसँग राखेर शिक्षा, संगीत र मार्गदर्शन दिएका थिए।
गत ३-४ महिनादेखि अशोक झापास्थित आफ्नो परिवारसँग बस्दै आएको र त्यहाँको एक विद्यालयमा पढाइ सुरू गरिसकेको टंकले बताएका छन्।
सानो उमेरमै भाइरल बनेका अशोकलाई लिएर टंकले ७ वर्षअघि 'मन बिनाको धन' गीत ल्याएका थिए। यो गीत निकै चर्चामा आएको थियो। अहिले अशोक अभिनीत फिल्म 'मन बिनाको धन' समेत प्रदर्शनमा आइसकेको छ।
अशोकले अब टंक बुढाथोकीकै फिल्म 'बाआमा' र नीता ढुंगानाको फिल्म 'पार्वती' मा समेत अभिनय गर्दैछन्।