गायक दीपक खरेलको पहिलो वृहत् अर्केस्ट्रासहितको एकल साँझ 'इकोज अफ इटरनिटी' यही चैत २७ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ।
नेपाली सुगम संगीतका कालजयी स्वर खरेलले उक्त कार्यक्रममा आफ्ना चर्चित गीतहरू 'पूर्णिमाको रात पनि', 'तिम्रो त्यो हँसिलो मुहारको', 'यो कर्मभूमीको आँगनमा', 'प्रतिक्षा गर मेरी मायालु', 'बादल बनाइदेऊ', 'गरुँ कि मिठो भूल' र 'बिहानीको सिरेटोमा' सहित १७ वटा गीत प्रस्तुत गर्नेछन्।
यस विशेष सांगीतिक साँझमा नर्वेका ४ जना कलाकारसहित कुल ५२ जना वाद्यवादक तथा १६ जना युवा तथा बालबालिकाको कोरस प्रस्तुति रहने आयोजक संस्था सुधाकर भ्वाइलिन स्कुलले जनाएको छ।
११ वर्षदेखि ७० वर्ष उमेर समूहका संगीतकर्मीहरूको सहभागिता रहने यस कार्यक्रममा संगीतको तीन पुस्ताबीच सांगीतिक सेतु निर्माण गर्ने लक्ष्य राखिएको छ।
गायक खरेलले नेपाली सुगम संगीतप्रेमीहरूलाई अविस्मरणीय अनुभव दिनका लागि आफू तयारी गरिरहेको बताएका छन्। 'यस खालको अर्केस्ट्रासहितको कार्यक्रमले श्रोताहरूलाई एउटा फरक अनुभव दिनेछ,' गायक खरेलले भने।
कार्यक्रमका परिकल्पनाकार सुधाकर वस्तीका अनुसार 'इकोज अफ इटरनिटी' खरेलका कालजयी गीतहरूको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको हो।
'नेपाली संगीतप्रेमीका लागि एक ऐतिहासिक सांगीतिक अनुभव दिनका लागि वृहत् आर्केस्ट्रासहित कार्यक्रम आयोजन गर्न लागिएको हो,' वस्तीले बताए।
वि.सं. २०१३ साल साउन १३ गते काभ्रेपलाञ्चोकमा जन्मिएका खरेल नेपाली सुगम संगीतका विशिष्ट र कालजयी स्वरका रूपमा परिचित छन्।
उनले बाल्यकालदेखि नै संगीतप्रति गहिरो लगाव राख्दै आफ्नो सांगीतिक यात्रा अघि बढाएका थिए। व्यवस्थापनमा स्नातकोत्तर शिक्षा हासिल गरी राष्ट्रसेवामा संलग्न रहँदै उनले २०३४ सालमा 'मैले रचेको गीत' बाट औपचारिक गायन यात्रा सुरू गरेका थिए।
आफ्ना गीतहरू मार्फत उनले राष्ट्रभक्ति, प्रेम, वियोग र मानवीय संवेदनालाई सरल तर गहिरो ढंगले प्रस्तुत गरेका छन्। चार सयभन्दा बढी गीत तथा १४ एल्बममार्फत नेपाली संगीतलाई समृद्ध बनाएका खरेलको गायन शैली अनुकरण गर्न कठिन मानिन्छ। गोर्खा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कारलगायतका सम्मानबाट विभूषित खरेल नेपाली संगीतका उच्च शिखर, राष्ट्रको गौरव र भावनात्मक आवाजका रूपमा स्थापित छन्।
'इकोज अफ इटरनिटी' कार्यक्रमका लागि सहयोगी संस्थाकाका रूपमा काठमाण्डौं प्रज्ञा कुञ्ज स्कूल र अन्नपूर्ण स्कूल अफ अर्केस्ट्रा रहेका छन्। कार्यक्रमको टिकट खल्ती एपमा उपलब्ध हुने बताइएको छ।
