गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको 'आर' शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार दुर्गा खरेलको सांगीतिक कार्यक्रम 'पलेँटी' सम्पन्न भएको छ।
यसपालीको पलेँटी दार्जिलिङका विस्मृत रचनाहरूलाई अभिलेखमा ल्याउने उद्देश्यले गरेको आयोजकहरूले जानकारी गराएका थिए।
१७ वर्ष पहिले पलेँटीमा आफ्नो पहिलो प्रस्तुति दिएका दुर्गा खरेलले गतवर्ष पनि नेपालयको 'आर'शाला गुञ्जायमान बनाएका थिए। विगतका कार्यक्रममा उनी आफ्ना सांगीतिक सहयात्री बद्री खरेल दाइका साथ प्रस्तुत हुने गर्दथे, तर यसपालि भने पलेँटीकी कण्ठ शिल्पी अभिज्ञा घिमिरेका साथ प्रस्तुत भएका थिए।
यसपालीको कार्यक्रममा प्रस्तुत गीतहरू दुर्गा खरेलले आफ्नो बाल्यकालको सम्झनामा आधारित छनोट गरेका थिए। कार्यक्रमको शुभारम्भ बद्री–दुर्गाकै लोकप्रिय गीत 'बोलाउँ भने तिमीलाई बात लाग्ने डर' बाट भएको थियो। त्यसपछि दार्जिलिङका अनेकौं पुराना स्रष्टाहरूको गीति पाना खोलिएको थियो, जुन दुर्गा खरेलको मस्तिष्कमा जोगिएर रहेका सांगीतिक पाना थिए।
दुर्गाले आफ्नो सम्झनाको पानाहरू पल्टाउँदै संगीतकार अम्बर गुरूङलाई अग्रस्थानमा राखेका थिए। अम्बर गुरूङका धुनहरू सम्झने क्रममा उनले सबभन्दा पहिले 'पहाड सुक्यो जस्तो लाग्छ' गीत प्रस्तुत गरे। गीत प्रस्तुतिका क्रममा दुर्गाले यो गीत धुनको कारणले मात्र नभई शब्दको कारणले पनि मौलिक लागेर आकर्षित भएको र मनमा बसेको बताएका थिए।
गुरूङकै संगीत प्रस्तुत गर्ने क्रममा उनले अर्को रचना 'डाँडापारी हिउँ परेछ, डाँडावारी पानी' प्रस्तुत गरेका थिए। यो गीत अम्बर गुरूङका मीत गीतकार ईन्द्र थपलियाले लेखेको गीत थियो।
त्यसपछि दुर्गा खरेलले अम्बर गुरूङले दार्जिलिङमा हुँदै अरूणा लामासँग गाएको हो कि? भन्ने धुमिल सम्झना गर्दै 'घामजुन पञ्च राखी बाचा मार' प्रस्तुत गरेका थिए। दुर्गाको सहगायनमा अभिज्ञा घिमिरेको साथ रहेको थियो।
त्यसपछि गोपाल योञ्जन आफ्नो संगीतको पहिलो गुरू रहेको स्मरण गर्दै दुर्गा खरेलले उनका दुईवटा गीतहरूलाई प्रस्तुत गरेका थिए। 'लिई गला नदीको बालुवाको ओठ लिएर, पिउँछु मुहान सुराको बेहोस बेहोस भएर' दुर्गाको गलामा गुञ्जँदा गोपाल योञ्जनकै झझल्को सुनिन्थ्यो। जुन झझल्को 'प्रियसीको हत्केलामा कोरिएका रेखाहरू, हेर्दाहेर्दै बिर्सिएछु भन्नपर्ने कुराहरू' गुञ्जाउँदा पनि निरन्तर थियो।
पुराना सिर्जना सम्झने क्रममा संगीतकार शान्ति ठटालका सृजनालाई पनि समेटिएको थियो। दुर्गाले कुनै समय 'त्यो फेरि फर्कला' नाटकमा अभिनय गर्दै गन्धर्वको भूमिकामा आफैंले गाएको 'सुन सुन भला पञ्च म केही भन्छु' गीतको सम्झना गरेका थिए। भवानी भिक्षुको 'त्यो फेरि फर्कला' नाटकमा संगीतकार शान्ति ठटालले संगीत भरेकी थिइन्।
ठटालकै सिर्जना सम्झँदै गर्दा अभिज्ञा घिमिरेले 'कुन जुनीको पाप मलाई आज लागेछ, निर्मोहीको मायाको व्यथा उर्लिरहन्छ' सुनाएकी थिइन्। गीतकार मेनुका प्रधानका शब्दलाई संगीतकार शान्ति ठटालले बिरनी शैलीमा धुन भरेको गीत थियो यो।
त्यसपछिको प्रस्तुतिमा ६० को दशकभन्दा अगाडि नै दार्जिलिङमा लोकप्रिय बनेका एमबी सुन्दासका गीतहरू परेका थिए। सुन्दासको ‘स्वर्णिम सपनासाथ अङ्गाली तिमी निदायौ होली’ आधुनिक शैलीमा आधारित गीत थियो भने ‘फूल फुल्यो पहेँली ए साइली, याद आउँछ झलझली’ लोक शैलीको गीत थियो।
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), पारशमणि सुवेदी र मिलेश तण्डुकार (रिदम सेक्सन) मिलन घिमिरे (बाँसुरी), कृपेश लोहनी (रिदम गिटार) र सुदीप खत्री (बेस गिटार) को सहभागिता रहेको थियो।
आगामी पलेँटीमा दार्जिलिङका गायक पवन गोले संगीतकार रमेश गुरूङका साथ प्रस्तुत हुनेछन्। पवन गोलेको गीत 'हावासँगै बगुँ भन्छ' नेपाली संगीत जगतमा लामो समयदेखि लोकप्रिय छ।