राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले पछिल्लो समय लाइभ दोहोरी, दोहोरी साँझ र मेला-महोत्सवका मञ्चहरूमा बढ्दै गएको अश्लीलता र सांस्कृतिक विचलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै अर्मयादित गतिविधिले लोक तथा दोहोरीगीतको इतिहास र मौलिकतामाथि प्रहार गरेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'केवल भ्युज र क्षणिक सस्तो लोकप्रियताका लागि सामाजिक मूल्य–मान्यताको खिल्ली उडाउँदै डिजिटल माध्यम, दोहोरी साँझ र सार्वजनिक मेला महोत्सवका मञ्चहरूमा उत्ताउलो हाउभाउ एवं अश्लील शब्दहरू प्रस्तुत गरिनुले समग्र लोक संगीत क्षेत्र नै बदनाम हुने जोखिम बढेको महसुस गरेको छौं।'
यसैबीच, प्रतिष्ठानले नेपाल सरकार र सम्बन्धित निकायलाई डिजिटल माध्यम तथा सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने अश्लील सामग्रीमाथि कडा निगरानी र कानुनी कारबाही गर्न आग्रह गरेको छ। साथै, कलाकार, आयोजक र दोहोरी साँझ सञ्चालकलाई पनि शालीन र मर्यादित प्रस्तुति दिन आह्वान गरेको छ।
पछिल्लो समय केही लोकदोहोरी कलाकारहरूको प्रस्तुतिलाई लिएर तीव्र आलोचना भएपछि प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो।
प्रतिष्ठानले संस्थासँग आबद्ध तथा यस क्षेत्रमा कार्यरत कलाकार, वाद्यवादक र स्टुडिओ सञ्चालकहरूलाई पनि आफ्ना सिर्जना र मञ्चीय प्रस्तुतिमा शालीनता एवं सभ्य भाषाको प्रयोग गर्न निर्देशन दिएको छ।
कसैको व्यक्तिगत लाभका लागि समग्र लोक संगीतको प्रतिष्ठामा आँच पुग्ने कार्य भएमा प्रतिष्ठान कठोर कदम चाल्न बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख छ।
