सांगीतिक रियालिटी शो 'द भ्वाइस किड्स' को पाँचौं सिजन दर्शकमाझ आउने तयारीमा छ।
शोले बिहीबार नयाँ सिजनका चारजना कोच सार्वजनिक गरेको छ। यस सिजनमा गायक सत्यराज आचार्य, गायिका मिलन नेवार, गायक अर्जुन सापकोटा र वाङ्देन शेर्पा कोचको भूमिकामा देखिनेछन्।
सत्यराज र मिलनको कोचको रूपमा निरन्तरता हो भने अर्जुन र वाङ्देन पहिलोपटक कोच बन्न लागेका हुन्।
अर्जुन पछिल्लो समय 'झलिको' बोलको गीतका कारण थप चर्चामा छन् भने वाङ्देनको 'तिमी नाच न', 'जून न हेरी' लगायतका गीत रूचाइएका छन्। शोका निर्देशक लक्ष्मण पौडेलले दिनरातको मेहनतपछि ब्याइण्ड अडिसनसम्म पुग्न सफल भएका बताएका छन्।
शो छिट्टै प्रसारणमा आउने जनाइएको छ। हिमालय टेलिभिजनबाट शो प्रसारण हुनेछ।
'द भ्वाइस किड्स' बाल प्रतिभाहरूको गायन क्षमता उजागर गर्ने उद्देश्यसहित दर्शकमाझ आउने गरेको छ।