लोकरक ब्यान्ड नेपथ्य अब वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली दर्शकमाझ प्रस्तुत हुने भएको छ।
अध्ययन तथा अन्य अवसरका सिलसिलामा विदेश पुगेका नेपालीबीच निरन्तर प्रस्तुति दिँदै आएको ब्यान्ड यसपटक मलेसियाको राजधानी क्वालालम्पुरमा पहिलोपटक सांगीतिक कार्यक्रम गर्न लागेको हो।
क्यानाडा र त्यसलगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता स्वदेश फर्किएको समूहले आगामी जुन १ (जेठ १८) मा क्वालालम्पुरस्थित 'जेप क्वालालम्पुर' मा प्रस्तुति दिनेछ। सोमबार साँझ आयोजना हुने कार्यक्रममा त्यहाँ रहेका नेपाली दर्शकले नेपाली लोकधुनमा आधारित रक गीतहरूको आनन्द लिन पाउनेछन्।
जापानको 'जेप नेटवर्क' अन्तर्गत चार वर्षअघि स्थापना गरिएको उक्त अन्तर्राष्ट्रिय रंगमञ्च क्वालालम्पुरको प्रमुख पर्यटकीय क्षेत्र बुकित बिन्ताङमा अवस्थित छ।
स्थापनाको साढे तीन दशक लामो यात्रामा पहिलोपटक मलेसियाली दर्शकमाझ उभिन लागेको नेपथ्यका लागि मलेसिया २० औं देश हुनेछ भने क्वालालम्पुर ५८औँ अन्तर्राष्ट्रिय सहर बन्नेछ।
तन्नेरीहरूको संघर्ष र सपनाबाट स्थापित नेपथ्यका लागि वैदेशिक रोजगारीका गन्तव्यहरू प्रारम्भिक टेको बनेका थिए। गत वर्ष प्रकाशित ब्यान्डको जीवनी पुस्तकमा नब्बेको दशकताका जापान र हङकङका अनुभवलाई विशेष रूपमा समेटिएको छ।
त्यसैगरी, पछिल्लो समय कन्सर्टहरूमा प्रस्तुत हुँदै आएको 'मै मरिजाउँला, जीवन छोटो छ' बोलको गीतको म्युजिक भिडिओमा पनि श्रम गरेर परिवारको भविष्य निर्माण गर्ने युवाको कथा प्रस्तुत गरिएको छ। ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरूङले मलेसियामा रहेका नेपाली दर्शकसँग प्रत्यक्ष भेटघाट हुन लागेकोमा खुसी व्यक्त गरेका छन्।
'मलेसियाबाट धेरै अघिदेखि सामाजिक सञ्जालमार्फत हामीसँग संवाद गरिरहनुभएका दर्शकसँग यसपटक प्रत्यक्ष भेट हुने अवसर जुटेकोमा अत्यन्त खुसी छु,' उनले भने, 'रेमिट्यान्समार्फत मुलुकको अर्थतन्त्रलाई टेवा दिइरहेका युवासँग स्वदेशको माया बाँड्न म र मेरो टोली आतुर छौं।'
लाहुरे परिवारकै सदस्य भएकाले कुनै समयको 'मलाया'सँग आफ्नो पनि विगत जोडिएको अमृत बताउँछन्।
आफूहरू बसोबास गर्दै आएको स्थानमा नेपथ्यको पहिलो उपस्थितिलाई लिएर क्वालालम्पुर मात्र नभई पर-परसम्मका नेपालीबीच पनि व्यापक चासो अनि उत्साह देखिएको स्थानीय आयोजक संस्था 'आर्बिटरी इभेन्ट्स' ले जनाएको छ।
'जताततैका जमघटहरुमा कन्सर्टबारे चर्चा चल्न थालेको छ भने फोनमार्फत जिज्ञासा राख्नेहरू पनि दिनदिनै बढिरहेका छन्,' आयोजक संस्थाका विपिन नकर्मी भन्छन्, 'दर्शकको सुविधाका लागि सकेसम्म बन्दोबस्त मिलाइरहेका छौं।'
विपिनका अनुसार अनलाइन बाहेकका माध्यमबाट टिकट काट्ने दर्शकलाई गाह्रो नपरोस् भनेर दर्शकको घरसम्मै टिकट 'डेलिभरी' को व्यवस्था पनि मिलाइएको छ।

विभिन्न मुलुक र सहरमा हुँदै आएका नेपथ्यका प्रस्तुति नेपाली सङ्गीत क्षेत्रका लागि अन्तर्राष्ट्रिय गन्तव्य विस्तारका दृष्टिले महत्वपूर्ण मानिन्छन्।
विभिन्न स्रोतका अनुसार मलेसियामा हाल पाँच लाखभन्दा बढी नेपालीको बसोबास रहेको छ। यद्यपि, त्यहाँ हालसम्म सामुदायिक स्तरमा हुने साना सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू मात्र आयोजना हुँदै आएका छन्।
नेपथ्यले विदेशका हरेक प्रस्तुति समान स्तरको बनाउन कलाकार, प्राविधिक र व्यवस्थापन टोलीसहित यात्रा गर्दै आएको छ। यसपटकको क्वालालम्पुर प्रस्तुति पनि त्यसैअनुसार तयारी गरिएको ब्यान्ड व्यवस्थापन पक्षले जनाएको छ।
'मलेसियामा रहेर नेपाली कार्यक्रम हेर्दै आएका दर्शकहरूको स्वादमा बढोत्तरीका लागि हामीले स्तरीय कार्यक्रमस्थलदेखि प्रस्तुतिका विभिन्न पाटामा उत्तिकै ध्यान पुर्याएका छौं,' ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, 'दर्शकले संगीतका साथसाथै नेपाली समुदायकै जमघटको पनि स्तरीय आस्वादन अनुभव गर्नेछन्।'
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन्।
कन्सर्टका लागि अनलाइन टिकट बिक्रीको व्यवस्था मिलाइएको छ। दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटबाट सिट सुरक्षित गर्न सक्नेछन्।
साथै, मलेसियामा रहेका नेपाली दर्शकका लागि फोनमार्फत टिकट बुकिङको सुविधा पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ।