गत शुक्रबार र शनिबार साँझ काठमाडौं कालिकास्थानस्थित नेपालयको आरशालामा गायक विधान श्रेष्ठको पलेँटी कार्यक्रम सम्पन्न भएको छ।
विधान श्रेष्ठले ९ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।
लामो अन्तरालपछि पुनः ‘पलेँटी’मा फर्किएका उनले झण्डै डेढ दर्जन गीत प्रस्तुत गरे। उनले गाएका अधिकांश गीत उनका पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठका शब्द र संगीतमा आधारित थिए।
कार्यक्रमको सुरूआत विजय श्रेष्ठको शब्द र दीप श्रेष्ठको स्वर, संगीतमा प्रसिद्ध बनेको गीत 'म पत्थरको देवता होइन' बाट गरिएको थियो।
पहिलो चरणमा प्रस्तुत गीतहरूमा सेन्टिमेन्टल गीतहरूको प्रधानता रहेको थियो। जसमा 'बुहारी झार झैँ','तिमीलाई साथ', 'बिर्सुँ भनेर चोट', 'जाँदैछु टाढा' र 'जलन छातीको' शीर्षकका गीतहरू रहेका थिए। अन्तरमुखी स्वभावका गायक विधानको गायन शैली भने बोल्ड र खुलस्त सुनिन्थ्यो।
दोस्रो चरणमा 'आज नाच्छे मेरी गौरी', 'हिँड लौ मायालु' र 'तारा जून' जस्ता रोमान्टिक गीत प्रस्तुत भए। तेस्रो चरणमा विजय श्रेष्ठबाहेक अन्य स्रष्टाका गीत समेटिएका थिए।
यसअन्तर्गत दार्जिलिङका गीतकार तथा संगीतकार पारस गजमेरको रचना 'ती रमाइला याद' र 'सोल्टिनी भनी बोलाको' प्रस्तुत गरिएको थियो। 'सोल्टिनी भनी बोलाको' गीतलाई हङकङको कुनै बेलाको चर्चित ब्यान्ड 'संगम' ले सृजना गरेको थियो। पछिल्लो चरणमा भने विधान श्रेष्ठले नै यस गीतलाई दर्शक, श्रोतामाझ प्रस्तुत गर्दै आएका छन्।
त्यसपछि केही लोकगीतहरूको प्रस्तुति रहेको थियो। लोकगीत प्रस्तुत गर्ने क्रममा विधानले आफ्ना अग्रज सुन्दर श्रेष्ठ र तीर्थकुमारीले कुनैबेला रेडियोमा गाएको गीत 'भक्तपुरे दही' बोलको गीतलाई छानेका थिए। लोकपाराकै गीत प्रस्तुत गर्ने क्रममा अर्को गीत 'कान्छीको अल्लारे जोवन' प्रस्तुत भएको थियो। यस गीतलाई ध्रुव बस्नेतले संकलन गरेका थिए।

कार्यक्रममा गायक प्रेमध्वजको स्वरमा प्रसिद्ध बनेको 'यो नानीको सिरैमा इन्द्र कमल फूल फुल्यो' पनि प्रस्तुत भएको थियो। यस गीतलाई प्रसिद्ध लोक कलाकार झलकमान गन्धर्वले संकलन गरेका हुन्।
कार्यक्रमको अन्तिम चरणमा देशभक्तिपूर्ण गीतहरूको प्रस्तुति रहेको थियो। जसमा 'ज्ञानबहादुर छोरो' बोलको काव्यात्मक गीतका साथै 'एकता नै बल हो' र 'माछी मार्न जाउन दाजै कालापानीमा' जस्ता चर्चित गीतहरू रहेका थिए।
शुक्रबारको कार्यक्रमको अन्त्यमा प्रस्तुत भएको 'माछी मार्न जाउँ न दाजै कालापानीमा' गीत प्रस्तुतिपछि दर्शकले विधानलाई 'स्ट्यान्डिङ ओभेसन' दिएका थिए।
पहिलो पटक 'पलेँटी' हेर्न पुगेको बताउने दर्शक काशिका राणाले कार्यक्रम निकै रमाइलो लागेको प्रतिक्रिया दिइन्। उनी भन्दै थिइन्- 'म इन्डियाबाट आएकी हुँ। विवाह भएर उतै बस्छु। आज बाबालाई पनि साथमा लिएर पलेँटी हेर्न आउने मौका जुर्यो। साह्रै रमाइलो अनुभव भयो। विधानको गायन र पलेँटीको प्याकेजिङ र प्रस्तुति सबै एकदमै आकर्षक लाग्यो।'
आयोजकले आगामी महिनाको पलेँटीमा सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका सुपुत्र कलाकार यमन श्रेष्ठलाई प्रस्तुत गरिने जानकारी दिएका थिए।
यसपालिको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, लिड र रिदम गिटारमा प्रवीण पुलामी मगर, बेस गिटारमा आशिष श्रेष्ठ, रिदम सेक्सनमा सुन्दर कुमार महर्जन र पारसमणि सुवेदीको सहभागिता रहेको थियो।
हरेक अंग्रेजी महिनाको अन्तिम साता आयोजना हुँदै आएको 'पलेंटी' विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक शृंखला हो। नेपाली संगीतका मुर्धन्य व्यक्तित्वलाई प्रस्तुत गर्दै आएको यस कार्यक्रमले बेलाबेलामा नयाँ पुस्ताका कलाकारलाई पनि समेट्ने गरेको छ।