'नेशनल म्युजिक अवार्ड'को ८ औं संस्करण यही असार २६ गते शुक्रबार आयोजना हुने भएको छ।
आम दर्शकलाई समेत समेटेर आयोजना गरिने यस अवार्डमा १४ विधासहित लाइफटाइम अचिभमेन्ट अवार्ड र 'एक्स्ट्रिम इनर्जेटिक पर्फर्मर अफ द इयर' अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम ललितपुरको पुल्चोकस्थित 'द प्लाजा'मा आयोजना हुने जानकारी दिएको हो।
कार्यक्रममा जोन एण्ड द लोकल्स, दीपक बज्राचार्य, उजन शाक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा र कर्मा सिंह लामालगायतका कलाकारको प्रस्तुति रहनेछ।
अवार्डअन्तर्गत उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायक/गायिका, उत्कृष्ट पाश्र्व गायक/गायिका, उत्कृष्ट पप गायक/गायिका, उत्कृष्ट सांगीतिक समूह, उत्कृष्ट हिपहप तथा आरएनबी र उत्कृष्ट आधुनिक गायक/गायिकालगायतका विधामा पुरस्कार प्रदान गरिनेछ।
त्यस्तै, गीत-संगीत तथा कला क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। उक्त पुरस्कारको राशि एक लाख रूपैयाँ रहेको छ।
श्रोताको सहभागितासहित ‘पिपुल्स च्वाइस अवार्ड’ पनि प्रदान गरिनेछ। यसका लागि सहभागीले ई-सेवामार्फत भोट गर्नुपर्नेछ। सर्वाधिक भोट प्राप्त गर्ने गीत र स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
२०८२ वैशाख १ गते देखि २०८२ चैत्र मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरूबाट विभिन्न विधा अन्तर्गत उत्कृष्टमध्ये ५ जनाको मनोनयनका लागि तीन सदस्यीय जुरी समिति गठन गरिएको थियो। सोही जुरीको निर्णयअनुसार विभिन्न विधाका मनोनयन तय गरिएको हो।
कार्यक्रमलाई सांगीतिक महोत्सवका रूपमा प्रस्तुत गरिने जनाइएको छ। यसपटक कार्यक्रममा सयभन्दा बढी कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ।
कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले यो अवार्ड नेपाली संगीत उद्योगको साझा थलो भएको उल्लेख गरे। उनले यसलाई समग्र नेपाली संगीतको उत्थान गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा लिन आग्रह गरे।