चर्चित गायिका एलिना चौहान अब व्यवसायमा पनि लागेकी छन्।
उनले करिब दुई करोड रूपैयाँको लगानीमा काठमाडौंको नयाँ बानेश्वरमा महिलाविशेष फेसन स्टोर 'रमणी बाइ एलिना' सञ्चालनमा ल्याएकी हुन्। यसको औपचारिक उद्घाटन यही साउन ४ गते हुने तयारी छ।
स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना तथा अन्य श्रृंगारका सामग्री उपलब्ध हुनेछन्। विशेषगरी परम्परागत महिला फेसनलाई केन्द्रमा राखेर 'रमणी बाइ एलिना' सञ्चालन गरिएको एलिनाले बताइन्। 'महिलालाई चाहिने अधिकांश सामग्री यहाँ पाइन्छ। हामीले फेन्सीभन्दा पनि ट्रेडिसनल सामानलाई प्राथमिकता दिएका छौं,' एलिनाले भनिन्।
करिब डेढ महिनाअघि यसको तयारी सुरू गरिएको उनले जानकारी दिइन्। गीत रेकर्डिङ र मेला महोत्सवमा व्यस्त रहे पनि भविष्यलाई सुरक्षित बनाउने सोचले व्यवसायमा हात हालेको एलिनाले बताइन्।
कलाकारिता सधैं एउटा अवस्थामा नरहने भएकाले समयमै अर्को विकल्प तयार गर्न ठानेको उनले बताइन्।
'मान्छेले खोजिरहेको बेला केही नयाँ काम सुरू गरियो भने त्यसले पछि पनि साथ दिन्छ। सधैंभरि एउटै अवस्था रहँदैन, त्यसैले अहिले नै केही आफ्नो विकल्प होस् भनेर यो व्यवसाय सुरू गरेँ,' उनले भनिन्।
व्यवसाय सुरू गर्ने प्रेरणा आफूले विभिन्न कलाकारको जीवनबाट पाएको अनुभव पनि उनले सुनाइन्। कलाकार आर्थिक अभावमा परेको समाचारले आफूलाई भविष्यबारे सोच्न बाध्य बनाएको उनको भनाइ छ।
'विदेश गएका वा बिरामी पर्दा आर्थिक समस्या भोगेका कलाकारका कथा देख्दा एक दिन मेरो अवस्था पनि त्यस्तै हुन सक्छ भन्ने लाग्थ्यो। त्यो बेला कसैसँग हात फैलाउन नपरोस् भनेर अहिलेदेखि नै दोब्बर मेहनत गरिरहेकी छु,' एलिनाले भनिन्।
'रमणी बाइ एलिना' मा करिब दुई करोड रूपैयाँ लगानी पुगेको उनले बताइन्। सुरूमा कम बजेटमा व्यवसाय सुरू गर्ने योजना भए पनि विस्तार हुँदै जाँदा लागत बढेको उनको भनाइ छ।
'गीत संगीतबाट कमाएको पैसा यसमा लगानी गरेकी छु। सबै पैसा आफ्नै त थिएन। केही आफ्नो कमाइसँगै केही परिवार, आफन्त र साथीभाइसँग पनि लिएर लगानी जुटाएकी हुँ,' उनले भनिन्।
गायिका एलिना यतिबेला तीज गीत रेकर्डिङमा पनि निकै व्यस्त छिन्। उनको आफ्नै युट्युब च्यानलबाट शुक्रबारमात्रै 'नौरती फुली' बोलको गीत सार्वजनिक भएको छ।