हरितालिका तीज आउन अझै झन्डै दुई महिना बाँकी छ। तीजका नयाँ गीतहरू भने सार्वजनिक हुन थालेका छन्।
साउन लागेसँगै दैनिकजसो नयाँ तीज गीत युट्युब तथा अन्य डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन्।
तीज गीतलाई नेपाली सांगीतिक क्षेत्रको विशेष 'सिजनल' विधाका रूपमा हेरिन्छ। हरेक वर्ष साउन लागेसँगै तीज गीत सार्वजनिक हुन थाल्छन्। यस वर्ष पनि सोही परम्पराले निरन्तरता पाएको देखिन्छ।
गायक खुमन अधिकारीका मात्रै हालसम्म चार वटा तीज गीत सार्वजनिक भइसकेका छन्।
उनले भने, 'साउन लागेसँगै तीजका गीत सार्वजनिक हुन थालेका छन्। मेरा चार वटामध्ये एउटा आफ्नै अफिसियल युट्युब च्यानलबाट ल्याएको छु।'
खुमन अधिकारी र शान्तिश्री परियारको स्वरमा रहेको 'करिमैले जहाँ लान्छ उहीँ जाऊँला' गीतले युट्युबमा तीन लाखभन्दा बढी भ्युज बटुलिसकेको छ।
गायिका एलिना चौहानले पनि साउनको पहिलो दिन आफ्नै युट्युब च्यानलमार्फत 'नौरती फुली' सार्वजनिक गरेकी थिइन्।
एलिनासँगै रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको स्वर रहेको यो गीतले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममा राम्रो चर्चा पाइरहेको देखिन्छ।
त्यस्तै, भूमिका गिरी र ऋषि खड्काको स्वर रहेको 'दिम कि नदिम' ले पनि राम्रो भ्युज बटुलिरहेको छ।
एलिनाको स्वरमा अर्को तीज गीत 'महादेव खाली भयो जेब' पनि सार्वजनिक छ। यो गीत भने सर्जक कस्तुप पन्तको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
गायिका शर्मिला बर्देवाले पनि यसपालि तीज गीत 'शिरैमा शिरफूल' ल्याएकी छन्। उनले आफ्नो तीन दशक लामो सांगीतिक यात्रामा पहिलो पटक तीज गीत गाएको बताएकी छन्।
गायक कालीप्रसाद बास्कोटाले पनि आफ्नै युट्युबमा 'तीजको रन्को' शीर्षकको गीत ल्याएका छन्। यसबाहेक पनि विभिन्न कलाकारका तीज गीत सार्वजनिक भइरहेका छन्।
एउटै कलाकारका २५ वटासम्म तीज गीत
गायिका एलिना चौहानका अझ थुप्रै तीज गीत सार्वजनिक हुने तयारीमा छन्। उनका अनुसार यस वर्ष उनले करिब २५ वटा तीज गीतमा स्वर दिएकी छन्।
उनी भन्छिन्, 'यसपालि करिब २५ वटा तीज गीत गाएकी छु। पहिले ५०–६० वटासम्म पनि गाउँथे। अहिले भने छानेर मात्रै गाउन थालेकी छु। पहिले हुँदैन भन्न गाह्रो लाग्थ्यो, आएका सबै गीत गाउँथेँ।'
अब आफ्नो च्यानलबाट अर्को एउटा 'स्याड' गीत पनि सार्वजनिक गर्ने उनले बताइन्।
गायक खुमन अधिकारीले पनि यस वर्ष हालसम्म ११ वटा तीज गीतमा स्वर दिइसकेको बताए।
उनले भने, 'पोहोर परार पनि १०–१२ वटा तीज गीत गाएको थिएँ। यसपालि पनि त्यही हाराहारीमा गाएको छु।'
एलिना र खुमन मात्र होइन, रेकर्डिङमा जमेका गायक–गायिकाले ठूलो संख्यामा तीज गीत गाउँछन्। शान्तिश्री परियार, देवी घर्ती, शान्तारानी परियारका पनि तीज गीत सार्वजनिक हुन थालेका छन्।
त्यस्तै, पशुपति शर्मा, रचना रिमाल, अर्जुन सापकोटा, खेम सेञ्चुरी, समीक्षा अधिकारी, दीपिका बयम्बु मगर, टीका पुन, पूर्णकला बिसी लगायतका पनि थुप्रै तीज गीत सार्वजनिक हुँदै आएका छन्।
यसैबीच, पछिल्ला वर्ष गायिका विष्णु माझीको तीज गीतको प्रतीक्षा बढी देखिन्छ। उनले हरेक वर्ष तीज गीत ल्याइरहेकी छन्। उनका गीतले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक चर्चा पाउने गरेका छन्।
त्यसैले विष्णुको नयाँ तीज गीत कहिले र कस्तो आउला भन्ने उत्सुकता पनि दर्शकमा देखिन्छ।
यद्यपि उनको गीत कहिले सार्वजनिक हुने भन्नेबारे हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
गायिका सम्झना लामिछानेले पनि आफ्नै युट्युब च्यानलमार्फत 'जमुना सम्झना' सार्वजनिक गर्ने तयारी गरेकी छन्।
पशुपति शर्माले 'घरकाले गन्दैनन्' शीर्षकको तीज गीत ल्याउँदैछन्।

गायिका सुनिता दुलालले खुमन अधिकारीसँगको सहकार्यमा आफ्नो चर्चित गीत 'अब त मैले नि झुम्का लगाउँछु' नयाँ शैलीमा पुनः सार्वजनिक गर्ने तयारी गरेकी छन्।
यसको भिडिओमा प्रकाश सपुत र वर्षा राउतले अभिनय गरेका छन्।
अग्रज गायिका लक्ष्मी न्यौपानेले पनि गीतको तयारी भइरहेको बताएकी छन्।
अन्य गायक–गायिका तथा सर्जकहरू पनि तीज गीत निर्माण र सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छन्। हरेक वर्ष तीज नजिकिँदै जाँदा ठूलो संख्यामा तीज विशेष गीत सार्वजनिक हुने गरे पनि यस वर्ष कति गीत आउनेछन् भन्ने यकिन तथ्यांक भने छैन।
तीज गीत सार्वजनिक गर्नुअघि कुनै निकायमा अनिवार्य दर्ता वा अनुमति लिनुपर्ने व्यवस्था नभएकाले यसको आधिकारिक अभिलेख उपलब्ध हुँदैन।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार अहिले तीज गीत सार्वजनिक हुन थाले पनि धेरै अझै आइसकेका छैनन्।
उनले भनिन्, 'तीज गीत आउन थालेका छन्। तर अहिलेसम्म धेरै संख्यामा सार्वजनिक भइसकेका छैनन्। तीजको माहोल पूर्ण रूपमा बनिसकेको जस्तो लाग्दैन। यसपालि तीज पनि केही पछि परेको छ। साउन १५ गतेसम्म पुग्दा माहोल बढ्ने अपेक्षा छ।'
दोहोरी गीत प्रतिष्ठानले विगतदेखि नै साउन १ गतेअघि तीज गीत सार्वजनिक नगर्न आग्रह गर्दै आएको थियो।