यूकेमा बसोबास गर्दै आएकी गायिका कविता घर्ती गुरूङले तीज गीत 'लाहुरे मायाको' सार्वजनिक गरेकी छन्।
प्रकाश दूतराजको संगीत, राम गगनको शब्द रचना रहेको गीतलाई सुदीप सागरले एरेन्ज गरेका हुन्। गीतमा मायाप्रेमको कुरा गरिएको छ। परदेश गएका प्रियजनको झल्कोको कुरालाई समेटिएको छ।
यसको भिडिओमा वर्षा राउत, शेखर घर्ती मगर र चाहाना राना मगरको नृत्य हेर्न सकिन्छ।
मूलतः नृत्य क्षेत्रबाट गायनमा आएकी गायिका गुरूङले यसअघि 'तिमी मेरो पहिलो माया हो' र 'मायालाई छोडेर कहाँ जाम्ला' जस्ता गीतहरू श्रोतासामु ल्याइसकेकी छिन्।
आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै उनले यसपटक तीजको मौलिक भाव बोकेको 'लाहुरे मायाको' ल्याएकी हुन्।
कविता यूकेमा जन्मिएका नेपाली बालबालिकालाई नेपाली कला, संस्कृति र नृत्य सिकाउने काममा सक्रिय छिन्। नेपाली कला-संस्कृतिको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले स्थापना गरिएको 'सयपत्री नेपाली कल्चरल ग्रुप यूके'की संस्थापक सदस्य रहेकी उनले सन् २०१५ देखि बालबालिकालाई नेपाली नृत्य सिकाउँदै आएकी छन्।
यूकेमा आयोजना हुने नेपाली मेलामा बालबालिकालाई नृत्य प्रस्तुत गराउँदै आएकी उनी त्यहाँको निर्णायकको भूमिकामा समेत रहँदै आएकी छन्।
'लाहुरे मायाको' गीतमा अनिल के मानन्धरको छायांकन, मुकेश नेपालीको कोरियोग्राफी तथा निर्देशन छ। भिडिओ नविन घर्ती मगरले सम्पादन गरेका हुन्।