बाजागाजासहितको भव्य उद्घाटन, चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति र मौलिक सांस्कृतिक प्रस्तुतिसँगै काठमाडौंको जमलमा तीन दिने 'लोकदोहोरी मेला २०८३' सम्पन्न भएको छ।
टप दरबार रोधी क्लबको ओपनिङका अवसरमा भदौ ५ गतेदेखि सुरू भएको मेलाको समापन अग्रज लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको हो।
समापन साँझ राजु परियार, शान्तारानी परियार, शिव हमाल र श्याम रानालगायत कलाकारहरूले प्रस्तुति दिएका थिए। कलाकारका लोकप्रिय गीतमा दर्शकले साथ दिँदा जमलस्थित विश्वज्योति मलको चौथो तला रात अबेरसम्म सांगीतिक माहोलमा गुञ्जिएको थियो। कौडा नृत्यलगायत मौलिक सांस्कृतिक प्रस्तुतिले पनि दर्शकको ध्यान खिचेको थियो।
मेलाको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता दिनेश डीसीको प्रमुख आतिथ्यतामा भएको थियो। उद्घाटन समारोहमा दुर्गेश थापा, बद्री पंगेनीलगायत कलाकारहरूको सहभागिता थियो। त्यसपछि ज्योती मगर, प्रीति आले, विश्व दोङ, बद्री पंगेनीलगायत कलाकारहरूले प्रस्तुति दिएका थिए।
तीन दिनसम्म चलेको मेलामा टप दरबार रोधीसँग आबद्ध करिब ६० कलाकारसहित लोकदोहोरी क्षेत्रका स्थापित तथा नयाँ पुस्ताका कलाकारहरूले प्रस्तुति दिएका थिए। नेपाली लोकसंगीत, मौलिक कला-संस्कृति र रोधी परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।
करिब ७ करोड रूपैयाँ लगानीमा टप दरबार रोधी सञ्चालनमा आएको जनाइएको छ। यहाँ एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको छ। क्लबका अनुसार यहाँ १०० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
सञ्चालक अशोक गिरीले रोधीलाई मनोरञ्जनको स्थलसँगै नेपाली लोकसंगीत र कलाकारका लागि साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
तीनदिने मेलासँगै क्लबको औपचारिक यात्रा सुरू भएको हो।