अमेरिकाको सांगीतिक टुरमा रहेको ब्यान्ड कन्दराले बाढी प्रभावितका लागि २० लाख ६० हजार ९ सय रूपैयाँ सहयोग रकम संकलन गरेको छ।
अमेरिकाको एटलान्टामा शुक्रबार आयोजित सांगीतिक कार्यक्रमलाई कन्दराले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धताका रूपमा प्रस्तुत गरेको थियो। सोही कार्यक्रममार्फत उक्त रकम संकलन भएको ब्यान्डले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।
कन्दराले अन्यन्त विषम परिस्थिति र अन्योलताकाबीच पनि कार्यक्रममार्फत सहयोग, साथ र सद्भाव प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।
ब्यान्डका अनुसार संकलित सम्पूर्ण २० लाख ६० हजार ९ सय रूपैयाँ रकम सोमबार एक कार्यक्रममार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने छ।
'यो रकम केवल आर्थिक सहयोग मात्र होइन, दुःखमा एकजुट हुने हाम्रो सामूहिक भावना, मानवता र मातृभूमिप्रति जिम्मेवारीको प्रतीक हो,' कन्दराले भनेको छ।
गत ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म दुई महिने अमेरिका टुरमा रहेको कन्दराले बोस्टनबाट आफ्नो सांगीतिक यात्रा सुरू गरेको थियो।
टुरलाई 'रिदम अफ चेन्ज' नाम दिइएको छ।