कन्दरा ब्यान्डले भोटेकोशी-त्रिशूली बाढीपीडितका लागि २१ लाख रूपैयाँ सहयोग गरेको छ। ब्यान्डले अमेरिकाको एटलान्टामा २८ अगस्टमा आयोजना गरेको कन्सर्टमार्फत संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो।
कन्दराको आह्वान र अग्रसरतामा बिएनएमको आयोजनामा भएको कार्यक्रममा एटलान्टामा रहेका नेपाली दर्शक, विभिन्न संघसंस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा नेपाली समुदायको सहभागिता थियो।
एटलान्टास्थित गैरनाफामूलक संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खातामार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको कन्दराले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
ब्यान्डका अनुसार २१ लाख रूपैयाँ विपद्प्रभावित नेपालीको राहत, उद्धार तथा पुनःस्थापनाका लागि समर्पित गरिएको हो।
कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले यो कार्यक्रम केवल सांगीतिक प्रस्तुति नभई मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति भएको बताए।
'यो केवल एउटा सांगीतिक कार्यक्रम थिएन। हजारौं माइल टाढा रहेर पनि मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति थियो,' श्रेष्ठले भने।
देश दुःखिरहेको बेला गीत गाउन सहज नभए पनि संगीतलाई पीडामा मल्हम लगाउने माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम अघि बढाइएको उनले बताए।
'संकटको यस घडीमा हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय गर्यौं। एटलान्टाका नेपाली दाजुभाइ-दिदीबहिनीले देखाउनुभएको एकता, माया र सहयोगले यो सम्भव भयो,' श्रेष्ठले भने।
कन्दरा गत ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्म दुई महिना लामो अमेरिका भ्रमणमा छ। 'रिदम अफ चेन्ज' नाम दिइएको सांगीतिक टुर ब्यान्डले बोस्टनबाट सुरू गरेको थियो। एटलान्टापछि ब्यान्डले भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिनेछ।