गायक तथा मोडल दुर्गेश थापाले केही दिन बाढी प्रभावित क्षेत्रमा बिताए।
राहत सामग्री बोकेर प्रभावित बस्ती पुगेका उनी त्यहाँ केवल सामग्री बाँडेर फर्किएनन्, स्थानीयसँगै बसे। खाना पकाए, उनीहरूसँगै खाए र उनीहरूका दुःख-पीडा सुने। मनोबल बढाए।
नुवाकोटको विदुर तथा त्रिशूली पारिको कोलनी क्षेत्रमा पुगेर तीन दिन बिताएका दुर्गेशका लागि यो समय राहत वितरणभन्दा बढी मानवीय अनुभव बन्यो।
दुर्गेश गत शुक्रबार विदुर पुगेर त्यहाँको वृद्धाश्रममा पहिलो चरणको राहत सामग्री वितरण गरेका थिए। त्यसपछि उनी त्रिशूलीपारि कोलोनी पुगे। उनका अनुसार त्यहाँ पुग्दा सबै जना एकदमै दुःखी थिए।
प्रभावित क्षेत्रमा पुगेपछि दुर्गेशले पहिलो दिन स्थानीयका लागि खाना बनाएर खुवाए। सामाजिक सञ्जालमार्फत उनले आफू त्यहाँ जान लागेको जानकारी गराएका थिए। पछि पोखरा, बुटवललगायत ठाउँबाट समेत राहत सामग्री आउन थालेको उनले बताए।
'राहत सामग्री आउन लागेपछि हामी हिजो बेलुका त्यहाँबाट फर्कियौं,' दुर्गेशले भने।
राहत वितरणका क्रममा उनले एकदमै धेरै पीडा सुने। त्यहाँ देखेको कतिपय दृश्य भने उनलाई नराम्रो लाग्यो। दुर्गेशले भने, 'केही पनि नभएको व्यक्ति समेत खाना खान आउनुभएको थियो। त्यो देख्दा चाहिँ एकदमै नराम्रो लाग्ने।'
दुर्गेशका अनुसार त्यहाँ बाढीले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई ठूलो मानसिक पीडा दिएको छ। कसैले घर गुमाएका छन्, कसैले परिवारका सदस्य। कतिपय अझै बेपत्ता छन्।
'कसैको घर छैन, कसैको आमा-बुवा भेटिनुभएको छैन। कसैको भाइ-दाइ भेटिएको छैन। त्यहाँ हरेक मान्छेको आफ्नै पीडा छ,' दुर्गेश भन्छन्।
प्रभावितका लागि एउटा स्कुलको क्यान्टिन प्रयोग गरिएको थियो। उनले तीन दिनसम्म त्यही बसेर खाना पकाउने, खाने र स्थानीयसँग कुराकानी गर्ने काम गरे। राहतका लागि उनीहरूको टोलीले तीन ट्रक सामग्री लगेको थियो। चामल, दाल, प्याज, आलु लगायत खाद्यान्नसँगै खाना पकाउन आवश्यक सामग्री पनि लगिएको थियो।
तर दुर्गेशका लागि राहतको अर्थ पैसा र सामानमा मात्र सीमित छैन। प्रभावितको बीचमा पुगेर उनीहरूसँगै बस्नु, कुरा गर्नु र मनोबल बढाउनु पनि उत्तिकै महत्वपूर्ण लाग्ने उनी बताउँछन्।
उनी भन्छन्, 'हामी गएर बोलिदिँदा, स्टेजमा हेरिरहेजस्तो होइन, सामान्य रूपमा गएर खाना पकाउने र खाने गर्दा उहाँहरूलाई एक किसिमको आँट आउँछ। हामीलाई साथ दिने मान्छे रहेछ है, कोही त रहेछ’ भन्ने महसुस हुन्छ भन्ने लाग्छ।'
आफूलाई सेलिब्रेटीभन्दा पनि सामान्य मानिसका रूपमा हेर्ने भएकाले स्थानीयसँग घुलमिल हुन सहज भएको उनी बताउँछन्।
'म रिलको सेलिब्रेटी होला, तर रियलमा त म सामान्य मान्छे हुँ जस्तो लाग्छ। त्यसैले सबैसँग बसेर खान मलाई अप्ठ्यारो लाग्दैन,' उनले भने, 'फेरि हामी (म)लाई कलाकार बनाउने नै उहाँहरू, समग्र स्रोता दर्शकहरू हुनुहुन्छ। अहिले उहाँहरूलाई गाह्रो पर्दा सहयोग नगरी बस्न मनले कहाँ मान्छ र?'
उनले प्रभावित क्षेत्रमा सबभन्दा बढी आवश्यकता खाना र आवासको मात्र नभएर अत्यावश्यक औषधिको समेत रहेको बताए। मुख्य तथा नजिकका क्षेत्रमा राहत धेरै पुगिसके पनि दुर्गम ठाउँमा अझै समस्या रहेको उनको भनाइ छ।
'जहाँ बाटो गएको छैन, त्यहाँ नुन-तेल सिद्धियो भनेर धेरै म्यासेज आइरहेका छन्,' दुर्गेशले भने, 'त्यस्ता ठाउँमा प्राथमिकताका साथ राहत सामग्री पुग्नुपर्छ।'
दुर्गेशले हाम्रो टिम नेपाल र अन्य सहयोगीहरूसँग मिलेर राहत अभियान सञ्चालन गरेका छन्। यसअघि पनि विभिन्न विपद्का बेला अक्सिजन तथा राहत सामग्री पुर्याउने काममा आफूहरू मिलेर सक्रिय हुँदै आएका थिए।
मंगलबार चितवनतर्फ जाँदै गरेका उनले अहिले कार्यक्रमभन्दा प्रभावितको पीडामा साथ दिनुलाई प्राथमिकता दिएको बताए। दिवंगतप्रति श्रद्धाञ्जली र प्रभावितलाई मनोबल दिने उद्देश्यले आफू कार्यक्रममा सहभागी हुन लागेको उनले सुनाए।
यसपछि फेरि कहाँ गाह्रो छ, राहत सामग्री कम पुगेको ठाउँमा राहत सामग्री लिएर जाने तयारी रहेको उनले बताए।