हरेक वर्ष तीज गीतमार्फत चर्चामा रहने गायिका विष्णु माझीको यसवर्षको तीज गीत 'घरबार' सार्वजनिक भएको छ। 'पुतलीको भट्टी' शृंखलाको २२ औं भागका रूपमा बुधबार बेलुका गीत सार्वजनिक गरिएको हो।
सुन्दरमणि अधिकारीको शब्द, संगीत रहेको 'घरबार'मा विष्णु माझीको स्वर छ। गीतले विवाहपछिको घरबार, महिलाका भावना तथा पारिवारिक जीवनका सुखदुःखलाई प्रस्तुत गर्छ।
झन्डै ११ मिनेट लामो भिडिओको कथामा वैदेशिक रोजगारीको प्रसंगसमेत समेटिएको छ। विदेशमा श्रीमानको दुर्घटनापछि श्रीमतीले भोग्नुपर्ने पीडा तथा वेदनालाई भिडिओमा देखाइएको छ।
महिलाले विवाहपछि भोग्ने भावनात्मक उतारचढावलाई गीतमा अभिव्यक्त गरिएको छ।
भिडिओमा यसअघि पनि विष्णु माझीका गीतमा अभिनय गरिसकेकी मोडल ललिता पौडेल देखिएकी छन्। साथमा भिडिओमा सुन्दरमणि अधिकारी स्वयंले पनि अभिनय गरेका छन्। भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्।
'घरबार' सुन्दरमणि अधिकारीको निर्माण तथा निर्देशनमा बनेको हो। छायांकन शम्भु चालिसेले गरेका हुन् भने सम्पादन मनोज कार्कीको छ।
सार्वजनिक भएको छोटो समयमै गीतले लोभलाग्दो भ्युज पाइरहेको छ।
बिहीबार दिउँसोसम्म २४ घण्टा नपुग्दै भिडिओ झन्डै ८ लाखले हेरिसकेका छन्।