गायिका रचना रिमालले अस्ट्रेलियामा तय आफ्ना सबै तीज कार्यक्रमहरू रद्द गरेकी छन्।
नेपालमा आएको विनाशकारी बाढीपछि देश शोकमा रहेका बेला उत्सव मनाउन मनले नमानेको भन्दै कार्यक्रम रद्द गरिएको रचनाले जानकारी दिइन्।
एनआरएनए वुमन फोरम नारीनिकुञ्ज अस्ट्रेलियाको आयोजनामा हुने तय भएको 'तीज उत्सव विथ रचना रिमाल' सहित करिब १० वटा सांगीतिक कार्यक्रम रद्द गरिएको उनले जानकारी दिएकी छन्।
'अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ। अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ। त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौं,' रचनाले सामाजिक सञ्जालमा लेखेकी छन्। उनले आफू यथाशीघ्र नेपाल फर्किन लागेको पनि बताएकी छन्।
रचना नेपालमा विनाशकारी बाढी आएकै दिन अस्ट्रेलिया पुगेकी थिइन्। यसअघि उनले कार्यक्रम स्थगित गरिएको बताएकी थिइन्।
अब भने रचना कार्यक्रम नै रद्द गरेर नेपाल फर्किन लागेकी हुन्।