गायक तथा अभिनेता प्रकाश सपूत र उनकी पत्नी विन्दु बोहराले पहिलोपटक एकसाथ म्युजिक भिडिओमा अभिनय गरेका छन्।
हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको 'लाली लपक्कै सारी सपक्कै' गीतको भिडिओमा प्रकाश र विन्दुको जोडीलाई देख्न सकिन्छ। साथमा अभिनेत्री निरूता सिंहको पनि नृत्य हेर्न सकिन्छ।
गायिका नीशा सुनार र प्रकाश सपुतको स्वरमा रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत छ। गीत आइतबार बिहान मात्रै सार्वजनिक गरिएको हो। भिडिओमा गायिका नीशा स्वयं पनि देखिएकी छन्।
अभिनेत्री निरूताले निकै कम म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छन्। गीत कर्णप्रिय लागेकाले आफूले भिडिओमा काम गरेको उनले बताइन्। प्रकाश र निरूताको यो पहिलो सहकार्य हो।
भिडिओमा प्रकाश, विन्दु र निरुताको नृत्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
'लाली लपक्कै' गीत यसअघि भदौ १० गते नै सार्वजनिक गर्ने तयारी गरिएकोमा विनाशकारी बाढीका कारण रोकिएको थियो।
अहिले गीत सार्वजनिक गर्दै गायिका निशाले भनेकी छन्, 'देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला उत्सवको सामग्री सार्वजनिक गर्नु संवेदनशील विषय हो भन्ने कुरा पूर्ण रूपमा बुझ्छु। त्यसैले यो गीत कसैको पीडालाई बेवास्ता गर्न वा दुःखलाई हल्का रूपमा लिनका लागि होइन। बरू, कठिन समयमा पनि एकअर्काप्रति माया, सहानुभूति र आशा कायम राखौं भन्ने भावनाका साथ यो गीत प्रस्तुत गरेकी हुँ।'
सुनिल विकको निर्देशनमा तयार भएको भिडिओमा गम्भीर विष्टको कोरियोग्राफी छ। हरि हुमागाईंको डीओपी रहेको भिडिओ प्रवीण भट्टले सम्पादन गरेका हुन्।