उमेर पुगेका युवा युवतीको मायाँको गाठो/ लगन गाँठो कस्ने महिनामध्येको एक महिना हो मंसीर।
यस पटकको मंसीर महिनामा पनि मेरो आफ्नै नजिकको आफन्तको विवाहमा सामेल हने अवसर मिल्यो। केटाकेटीदेखि नै यस्ता धेरै विवाह हेरियो, आफ्नै विवाह भयो तर यसपटक भने विवाह सम्बन्धमा केहि हरफ कोर्न मन लाग्यो।
बैवाहिक परम्परा उस्तै थियो। बेहुलीको घरमा बेहुलासहितको जन्ती पुगेपछि जन्ती पर्सिने काम भयो। त्यसपछि स्वयंवर गर्ने बेला भयो। बेहुलीले बेहुलालाई पूर्ण जलसहितको कलशले तीन पटक परिक्रमा गरिन् र स्वयम्बरको माला पहिर्याइइिन्।
त्यसपछि बेहुलाले पनि बेहुलीलाई सुनको औंठी र माला लगाइदिए। त्यसपछि कन्यादान लगायत अन्य कर्महरु भए।
केहिबेरमा बेहुलीको सिउँदोमा बेहुलालाई सिन्दुर भर्न लगाइयो। सिन्दुर भरेबापत हो वा किन हो बेहुलाले बेहुलीलाई केही रकम दिए अनि बेहुलीले आफ्नो शीर बेहुलाको पाउमा राखिन् (राख्न लगाइयो)।
एकछिनमा फेरि अर्को कर्मको पालो आयो जुन कर्म गर्दा र गराउँदा पुरूष मन हर्षविभोर हुन्छ, छोरा भएर जन्मेकोमा गर्व गर्छ र समाजमा आफ्नो उचाइ निकै बढेको महशुस गर्छ।
विवाह महोत्सवमा सामेल हुने मौका पाउँदा प्रायः मैले यतिबेला बेहुलाको अनुहार पढ्ने गरेकी छु। त्यो कर्म हो बेहुलाले आफ्नो पाउ कोपारामा तेर्स्याउने र बेहुलीले पाउ धोएर पानी शिरमा छर्कने अनि खाने।
उक्त विवाहमा पनि बेहुलाले बिना कुनै हिचकिचाहट आफ्ना पाउ तेस्र्याए अनि बेहुलीले पाउ धुने र पानी खाने काम पुरा गरिन्। यसबापत पनि बेहुलीले बेहुलाबाट केही रकम प्राप्त गरिन्।
यस्तै खाले फेरि अर्को कर्म शुरू भयो। बेहुलाले बेहुलीलाई आफ्नो जूठो खान दिए। जूठो खाए बापत बेहुलीले बेहुलाबाट फेरि केही रकम प्राप्त गरिन्। त्यसपछि अन्य केही कर्महरु सकिए।
बेहुली अन्माउने बेला भयो। बेहुलाको घरमा भित्रिएपछि दिनुपर्ने नाता अनुसारको गहना, कपडा, रुपैयाँ आदिको व्यवस्था गरी बेहुली अन्माइयो।
यी सबै कुरा हाम्रो समाजमा चल्दै आएका, हामीले देख्दै भोग्दै आएका र हामीलाई सामान्य लाग्ने रीतिहरु हुन्। धार्मिक शास्त्र अनुसार यस्तो प्रकारको बैबहिक रितको के के मान्यता छ त्यो त मलाई थाहा छैन। तर, मलाई भने विवाहको यो रीतिले मेरो मनमा घरी घरी अनेकौं प्रश्नहरु उठाइरहन्छन्।
स्वयंवरको बेला बेहुलीले बेहुलालाई भगवान झैं गरी पूर्ण कलशले परिक्रमा गर्नुपर्ने कारण किन होला? बिबाहपछि श्रीमान श्रीमतीको लागि महत्वपूर्ण व्यक्ती हो भनेर परिक्रमा गराइएको हो भने श्रीमानको लागी श्रीमती महत्वपूर्ण व्यक्ति होइन भनेर बुझ्ने?
अनि बेहुलाले बेहुलीको सिउँदोमा सिन्दुर लगाइदिए बापत बेहुलीले गोडा ढोग्नुपर्ने किन? त्यो दृश्य हेर्दा यस्तो लाग्यो कि सिन्दुर लगाइदिएर बेहुलाले बेहुलीमाथि ठूलो कृपा गरे। हो हाम्रो बैबाहिक परम्परा अनुसार सिन्दुर लगाउने र लगाइदिने कार्यपछि दुबै शरीर एक भन्ने मान्यता रहँदै आएको छ र यो कर्म बिबाहको अत्यन्त महत्वपूर्ण कर्म पनि हो।
यस्तो राम्रो र पवित्र कर्मपछि दुबै शरीर र आत्मा एक भयौ भनेर अंकमाल गर्न लगाउने की एक दासीको रुपमा सारा समाजको अघि मन नलागे पनि ढोग्न बाध्य गराउने?
श्रीमान र श्रीमती केवल एक जीवनसाथी हुन् न कि कुनै भगवान र भक्त। यो एक यस्तो सम्बन्ध हो जहाँ कुनै एक महत्वपूर्ण र अर्को महत्वहीन हुनै सक्दैन। बराबर हैसियत राख्ने दुई अति आवश्यक साथीहरूको सम्बन्धलाई पनि विवाहको दिनमा नै मालिक र दासीको जस्तो सम्बन्धको रुपमा स्थापित गराउन खोज्ने कुरीतिको सम्मान हामीले कहिलेसम्म गर्ने ?
आफ्नो आधा शरीर मानिएकी नारीलाई समाजको अगाडि आफ्नो पाउ धुवाएर पानी खुवाउन कत्ति पनि लाज नमान्ने पुरूषहरूको चेतनाको स्तर देखेर मलाई सारै दया लाग्छ। देश विदेशबाट राम्रो शैक्षिक योग्यता प्राप्त गरेका युवाहरुले पनि यस्तो कुरीतिलाई निरन्तरता दिनु निकै नै दुःख लाग्दो कुरा हो।
अर्को कुरा जुठो खाने र खुवाउनेको। जुठो भन्ने कुरा कसैको कर र बलले खाने र खुवाउने कुरा होइन। यदि पहिलेदेखिको चिनजान होइन भने श्रीमान र श्रीमतीबिच पनि आफ्नोपन र आत्मियता बढ्न समय लाग्छ।
श्रीमान श्रीमती नजिक भैसकेपछि एक अर्काको जुठो सामान्य हुन्छ भन्ने कुरा हरेक बिबाहित व्यक्तीलाई थाहा भएकै कुरा हो। यति हुँदा हुँदै पनि बिबाहमा पैसा दिएर बेहुलीलााई मात्र बेहुलाको जुठो खान लगाउनुपर्ने कारण किन ?
श्रीमानको घरमा भित्रिएपछि श्रीमतीले सासु, ससुरा, नन्द, अमाजुलगायतलाई गहना, कपडा, रूपैयाँ आदि राखेर ढोग्नुपर्ने कारणको अर्थ पनि मैले आजसम्म बुझ्न सकेको छैन।
अनि ज्वाईँले आफ्ना सासु ससुरालाई ढोग्नु नपर्ने? यति मात्र कहाँ हो र ? सम्धिनी भेट गर्दा पनि बेहुलीकी आमाले बेहुलाकी आमालाई गहना, कपडालगायत अन्य सामान राखेर ढोग्ने चलन चल्दै आएको छ।
यदि आफ्नोपनको लागि सम्धिनी भेटघाटको चलन चलाइएको हो भने दुबै तर्फका आमाहरुले एक आपसमा उपहार साटासाट गर्दा के फरक पर्छ? आफूभन्दा सानालाई माया गर्नु, ठूलालाई आदर सम्मान गर्नु र आफू समानकालाई सम्मानजनक व्यवहार गर्नु एक असल र सभ्य व्यक्तिको कर्तव्य हो। तर, आदर र सम्मानलाई धनसँग दाँज्नु भनेको दरिद्र मानसिकता हो।
मलाई बेला बेलामा यो कुराले घोचिरहन्छ की हामी पढेलेखेका र बुझेका महिलाहरु पनि किन यस्ता कुरीतिहरुको पछि दौडिरहेका छौं?
हामी यी कुराहरुलाई सामान्य रुपमा लिन्छौं वा परिवर्तन गर्ने साहस हामीमा छैन। मेरो एउटा मनले यो पनि सोच्छ की हामी छोराका आमाहरु कता कता छोराको बिबाहमा छोराले पाउने सम्मान, आफूले पाउने सम्मान अनि बुहारीले दाइजोमा ल्याउने सम्पत्तीको अदृश्य लोभमा डुबेका त छैनौं?
एकपटक छातिमा हात राखेर आफ्नो मनको सत्य कुरा सुनौँ त? नत्र हामी आफ्ना छोराहरूलाई यो खराब र अपमानजनक परम्पराको बारेमा सानैबाट किन केही सिकाउँदैनौं? छोरा र बुहारी समान हुन् भनेर बिना दाइजो सम्मानजनक रुपमा बुहारीलाई अंगालो मारेर भित्र्याउन किन सक्दैनौ?
इज्जतलाई धनसँग दाँज्ने गरिब मानसिकता हामीले जब सम्म त्याग्न सक्दैनौ तबसम्म परिवर्तन असम्भव छ। इज्जत पैसामा होइन व्यवहारमा हुन्छ भन्ने कुरा सोच्न सक्नुपर्छ।
हामीलाई क्षणिक रवाफभन्दा सुखी र खुशी घर चाहिएको छ। दाइजो होइन असल र कर्तव्यपरायण बुहारी चाहिएको छ। घर त्यो हो जहाँ एक आपसमा आदर, सम्मान, माया, प्रेम र कर्तव्य जीवित रहेको हुन्छ। महिलाहरुले चाहेमा घरलाइ सही अर्थमा घर बनाउन सक्छन्।
समय परिवर्तनशील छ। समय सँगै धेरै कुराहरु परिवर्तन भइरहेका छन्। अब पहिलेको जस्तो परिस्थिति छैन। शैक्षिक र अर्थिक रूपमा महिलाहरु पुरुष सरह सक्षम भैसकेका छन् तर पनि बिबाहको बेलामा महिलालाई कम र पुरुषलाई बढी महत्व दिने यो परम्पराले छोरी एवम् छोरीका आमा बुबाको मनोबल गिराउने काम गरिरहेको छ। छोरीलाई गर्भमा नै हत्या गर्न बाध्य गराउनुमा यस्ता कुरीतिहरुको पनि अदृश्य हात छ।
हो परिवर्तन सम्भव छ। अब हामी यस्ता कुरीतिहरुमा अल्झिनु हुँदैन। बिबाह मण्डपदेखि नै बेहुलीलाई गिराउने यस्ता अपमानजनक संस्कृतिको विरोध गरी सम्मानजनक रुपबाट नयाँ सदस्यलाई घरमा प्रवेश गराएर परिवर्तनको सम्वाहक बन्न सक्नु आजका पुरुष युवाहरुको दायित्व हो र यसलाइ सहयोग गर्नु परिवारको कर्तव्य हो।