विद्यालयको अस्तित्व भन्दा धेरै पहिले मानव थिए। जीवन पाठशाला र अनुभव शिक्षक थिए। आज तीव्र गतिमा बदलिँदो र अथाह जानकारीले भरिएको संसार छ। तर बृहत्तर शिक्षाको खोज चलिरहेकै छ।
हामी शिक्षालाई जीवनको पहिलो प्राथमिकतामा राख्छौं। समय र अथाह स्रोत खर्चिन्छौं। यति हुँदा पनि यसैका मूल प्रश्नहरू अनुत्तरित छन्।
के आजको शिक्षाले हाम्रो जीवनलाई वास्तविक रूपमा अर्थपूर्ण गराएको छ? हामी शिक्षाको खोजीमा यसकै वास्तविक उद्देश्य गुमाएका छौं कि? के हो त्यो उद्देश्य? हामीले परिभाषित गरेको शिक्षाको उद्देश्य वैध छ? त्यो वैधताको कसी के? समाज कि चेतना?
किन चाहियो स्कुल? किन हामी आफ्ना सन्तानलाई स्कुल पठाउँछौं? केका लागि? साक्षरताका लागि मात्र वा अरू थप केही?
शिक्षा विस्तारका लागि स्कुलहरूको भूमिका महत्त्वपूर्ण छ र यसकै कारण सभ्यता र प्रविधि यो विन्दुसम्म आएको छ। तर किन हामी यति सभ्य हुँदा पनि स्वविनाशको सम्भावनासम्म परिकल्पना गर्छौं? प्रश्न ज्ञानको उपयोगमा होइन, यो प्रश्न जीवन महत्ताको हो।
प्रश्नहरू अनौठा लाग्न सक्छन्। जति ती सरल सुनिन्छन्, त्यति नै जटिल छन्। यिनको गहिराइ त्यहीँ छ जहाँबाट परिवर्तन सुरू हुन्छ।
विद्यालयमा शिक्षा शिक्षण हुन्छ। विद्यार्थीलाई हामी साक्षर गराउँछौं। विभिन्न विषयका सूचनाहरू दिन्छौं। परीक्षा लिन्छौं। अन्वेषण गर्न सिकाउँछौं। अन्ततः उनीहरूलाई विद्यावारिधिको उपाधिसहित पगरी पनि लगाइदिन्छौं। यो सम्पूर्ण प्रक्रियामा आधा मानव जीवन सकिन्छ।
हामीले सिकाउँछौं, विद्यार्थीले सिक्छन्। मान्यता यही हो। चक्र यही हो।
जोन हल्ट भन्छन्, 'शिक्षणको प्रतिफल सिकाइ होइन। जोन डिवी औपचारिक शिक्षणलाई ज्ञानका धेरै प्रक्रियाहरूमध्ये एक मान्छन् र उनको शब्दमा जीवन शिक्षा हो, शिक्षा नै जीवन हो।
शिक्षा त्यो बाटोमा छ त?
वलिजले स्कुलिङ इन क्यापिटलिस्ट अमेरिकामा औंल्याएका छन्, सर्वसाधारण सबैलाई शिक्षा दिने स्कुलको धारणा औद्योगीकरणपछि झाँगियो। यसको उद्देश्य शिक्षालाई आवश्यकता अनुसार स्तरिकृत गर्नु, मानिसलाई अनुकूल अनुशासनमा राखेर उद्योगलाई चाहिने बौद्धिक श्रमिक उत्पादन गर्नु थियो।
योग्य श्रमिकको उत्पादन केन्द्रमा राखेर सुरू भएको शिक्षाले शिक्षाकै अर्थपूर्णता र जीवन्तताबाट अलग्यायो। शिक्षा खाँटी सत्यदेखि विषय ज्ञानतिर गयो र गहनता भन्दा कार्य प्रदर्शनतर्फ लाग्यो। यहीँ स्कुलहरूको मूलभूत लक्ष्यको विषयान्तरण भयो।
उत्तरआधुनिक कालसम्म आइपुग्दा पनि स्कुलहरूमा शिक्षा आफ्नो वास्तविक उद्देश्यबाट पलायन भएको देखिन्छ। मानौं शिक्षा अहिले पनि औद्योगिक क्रान्तिताकाको अठारौं शताब्दीको अवस्थामा छ।
यही अवस्था विश्लेषण गर्दै सर केन रबिन्सनले आफ्नो एक प्रसिद्ध टेडटकमा भनेका छन् — शिक्षालाई फ्याक्ट्री मोडलबाट मानव विकासको मोडलमा उन्नत गर्नुपर्छ। विद्यार्थी उद्योगका उत्पादन होइनन्।
शिक्षाले जीवन्त मानव विकास गर्नुपर्ने थियो, तर मान्छे यान्त्रिक बन्यो। हुनुपर्ने आत्मपूर्ति थियो, जीवन असन्तुष्ट भइदियो।
यसरी शिक्षा इतिहासको बेला जस्तै आज पनि चक्रब्यूहमा फसेको देखिन्छ। पढ, डिग्री हासिल गर, श्रम गर अनि सक्दो अर्थोपार्जन गर। यही घनचक्करमा जीवन चल्छ। जीवन बित्छ।
शिक्षाको निकास यही हो र? शिक्षाले दिने यत्ति मात्र हो?
यदि हो भनेमा, त्यो भ्रम हुन सक्छ। किनभने, यस्तो प्रकृतिको शिक्षाले तृप्त गर्दैन, मानवतालाई उन्नत गर्दैन। यस्तो शिक्षाको अर्थ के रहला?
निराशावाद होइन। परिदृश्यको लेखाजोखा मात्र हो।
धेरै अनुसन्धानका उदाहरणहरू छन्— सूचना, विज्ञान, प्रविधि, भौतिक विकास, उपकरणहरू र अनेकन ज्ञानका पहुँच हामीसँग छ। तर सँगसँगै सिडिसी एक अनुसन्धान विद्यार्थीहरूमा मानसिक समस्या बढ्दो देखाउँछ। वर्ल्ड बैंकको सर्वेक्षणले विश्वव्यापी सिकाइको संकट देखाउँछ।
अध्येता हेकम्यान भन्छन् — विद्यार्थीमा जिज्ञासा र लचकताको कमी हुने क्रम उकालो लाग्दो छ।
स्कुलहरू छन्, स्रोत पनि छन् तर शिक्षाको अन्तर्यमा यसको मूलतत्व लुप्त भएको भान हुन्छ। संस्कार, जीवन उपयोगी सीप र सामाजिक सम्बन्ध खस्किएको प्रतीत हुन्छ।
प्रश्न त्यहीँ आउँछ, यदि स्कुलले जीवनको अनुभव दिन सक्दैन भने किन चाहियो स्कुल?
पाउलो फ्रेरे भन्छन् — शिक्षाले स्वतन्त्र बनाउनुपर्छ, शिक्षा कोठे हुनु हुँदैन। उनकै शब्दमा, शिक्षाको बैंकिङ मोडललाई समाजले अस्वीकृत गर्नुपर्छ। ज्ञान द्विपक्षीय सहनिर्माण हो, जान्नेले नजान्नेलाई भर्ने होइन।
अर्को एउटा भ्रमको कुरा राख्छु त्यो हो — सिकाइ विद्यालय वा विश्वविद्यालयमा मात्रै हुन्छ।
कैयौं सफल मानिसहरूले विद्यालय शिक्षा नै अलपत्र छाडेका छन्। तर ती मानिसहरूसँग ज्ञान छ। भोगेर सिकेका छन्, व्यवहारले सिकाएको छ, अन्तर्ज्ञान सिकाएको छ। आज हजारौं सफल व्यवसायीहरू छन् जसको डिग्री छैन तर विद्यावारिधिवालाहरूलाई उनीहरूले रोजगारी दिन्छन्। ती व्यवसायीको ज्ञान जीवन्त छ, अरूको कोरा बौद्धिक तर्क मात्रै।
ज्ञान एक धूलोको कणमा पनि ब्रह्माण्ड बराबर हुने रहेछ। ज्ञान प्राणी र वनस्पतिमा हुने रहेछ, समाजमा हुने रहेछ, सुकेको खोस्टोमा पनि हुने रहेछ, जेमा पनि हुने रहेछ।
तर स्कुलहरूले ज्ञानका पक्षलाई अनुभवात्मक प्रक्रियामा नजोड्दा र सीमित पाठ्यपुस्तक रटाउँदा यसको जीवन्तता हराउने रहेछ।
भोगाइबिनाको शिक्षा निष्प्राण हुने रहेछ। जीवन भनेको भोगाइ हो तसर्थ शिक्षा भोगाइपूर्ण हुनपर्छ। डिविको बुझाइले यसैमा गहन अर्थ राख्छ। तसर्थ यदि विद्यालयमा सिकाइ अनुभवलाई कम र बौद्धिक धारणालाई धेरै जोड दिइन्छ भने शिक्षा कोरा र अनर्थको बन्छ।
यसै प्रसंगमा एक विद्यालयको भ्रमणमा भएको घटनाको उल्लेख गर्छु।
प्रिन्सिपल भन्दै हुनुहुन्थ्यो, हामी यसरी पढाउँछौं कि हाम्रा विद्यार्थीका बोर्ड परीक्षाफल देशकै सर्वोत्कृष्ट हुन्छन्, अभिभावक सन्तुष्ट छन्।
तर मनमनै सोचेँ — खोइ के चाहिँ सिके त विद्यार्थीले?
के तिनले कलाको प्रशंसा गर्न सिके? संगीत र विज्ञान जोड्न सिके? साथीभाइसँग अन्तरसम्बन्ध स्थापना गर्न सिके? मानव मूल्य बुझे? आफूमा निहित सम्भावना खोज्न सिके? रूख, जंगल र हिमालयबाट प्रकृति सिके?
उनीहरूले त मात्र एक चिज सिके — रट्ने कसरी।
उनीहहरूले भोगाइबिनाको अधुरो ज्ञान सिके।
यस्तै अवस्थामा, विद्यालय होस् वा विश्वविद्यालय, धेरैले उच्च श्रेणीमा डिग्री हासिल गरे, शिक्षितमा गनिए। यही किसिमका शिक्षित वर्गले समाजमा उल्लेख्य स्थान ओगटेको छ।
जिके चेस्टर्टन एक प्रसिद्ध बेलायती लेखक, दार्शनिक र पत्रकार हुन्। उनको एक भनाइको आशय छ, औपचारिक शिक्षाबिनाका मानिसहरूलाई यस्तो भ्रममा पारिन्छ कि उनीहरू अनभिज्ञ छन्, 'मूर्ख' छन्। अर्थात् स्कुल वा विश्वविद्यालयले हामीलाई वास्तवमा शिक्षित गर्दैन तर हामी शिक्षित हौं भन्ने आडम्बरको खोल ओढाउँछ र बौद्धिक अहंकारको मलजल गर्छ।
उनी थप्छन्, 'जोखिम त त्यो बेला हुन्छ जब मात्र बौद्धिक खुराकको आधारमा स्नातकहरूले आफूलाई अन्यभन्दा विद्वान र नैतिक सम्झिन्छन्।'
गहिरिएर सोच्दा यहाँ एक वस्तुगत प्रश्न बन्छ — स्कुलले हामीलाई के दियो?
- डिग्री
- तार्किक क्षमता
- सामाजिक आडम्बर
- सबै।
यदि उत्तर 'सबै हो भने' हामी यही प्रश्न सोध्दैछौं — स्कुल किन चाहियो?
स्कुल नचाहिने हुँदै होइन। तर जुन स्कुलले वास्तविक रूपमा जीवनमर्म र जीवनपर्यन्त सिकाइलाई समृद्ध गर्न सक्दैन, त्यसको महत्त्व अति कम हुन्छ। साक्षरतामा मात्र सीमित स्कुलले विद्यार्थीलाई चाहिएको परिवर्तन दिन सक्दैन।
विद्यालयमा हासिल गरेका विषयका ज्ञान त हामीले एक दिन सबै भुल्छौं, वास्तविक जीवनमा तिनको खास प्रयोजन पनि नहुन सक्छ। र, ती शिक्षक पनि सायद सम्झनामा नहोलान्। तर जे भोगियो, अनुभवमा आयो, त्यसैले हामीलाई जीवनपर्यन्त दिशानिर्देश गर्छ।
यसै सन्दर्भमा अर्को एक प्रमुख शैक्षिक जगतको उदाहरण राख्छु।
क्याम्ब्रिज र अक्सफोर्ड लक्षित ग्रामर र क्याम्ब्रिज आधारित स्कुलहरू बेलायती शिक्षाका आधारशिला हुन् जसले कठिन बौद्धिक श्रममा विश्वास गर्छन्। आलोचनात्मक क्षमताका आधारमा कठिन परीक्षा उत्तीर्ण गर्नुपर्ने तिनका अहिलेका पनि परिचय हुन्।
मध्ययुगीन सोचमा आधारित र समाजका विशिष्ट वर्गका लागि लक्षित यो पद्धतिले हाल प्रगतिशील विचारसँग मिलेर शैक्षिक लक्ष्य परिमार्जन गर्न प्रयास गरेको छ। तर पनि यी प्रणालीले अहिले पनि अनुभवलाई कम र विद्यार्थीका शैक्षिक पाण्डित्यको प्रस्फुटनलाई महत्त्व दिएको देखिन्छ।
प्रश्न यहाँ पनि उठ्छ, के एक गनिएको पद्धतिले पनि शिक्षालाई अर्थपूर्ण बनाएको छ र?
शिक्षालाई अर्थपूर्ण बनाउने दुई धारणा छन्ः डि–स्कुलिङ र अन–स्कुलिङ।
यी दुई शब्द उस्तै लागे पनि अर्थ फरक छ।
डि–स्कुलिङले विद्यार्थीमा स्कुलद्वारा खाँदिएका जड सोचलाई मेटाउने जनाउँछ। अन–स्कुलिङले सिकाइ स्वयं विद्यार्थीको निर्देशनमा हुनुपर्छ भन्ने छ।
थोरै गहिराइमा जाऔं।
डि–स्कुलिङ भन्नाले स्कुलमा सिकेका पूर्वाग्रह, स्वभाव, विश्वास आदिले हामीलाई बाँधेको सीमितताबाट मुक्ति मिल्ने हो। उदाहरणका लागि, वर्षौंसम्म गमलामा रोपिएको रूख जमिनमा सार्नु हो। विचारको स्वतन्त्रता फैलाउनु हो। औपचारिक शिक्षा पछिको यो एक परिवर्तनकाल हो, जसले शिक्षालाई अर्थपूर्ण बनाउँछ।
अन–स्कुलिङ स्वज्ञानको पहिचान र यसैबाट सिर्जित स्वनिर्देशन हो। उदाहरणका लागि, जंगलमा यसरी नै हिँड्नुपर्छ भनेर स्कुलले चरणहरू सिकायो तर अन–स्कुलिङले त्यो बाहेक अन्य अनगिन्ती बाटाहरू छन् र आफ्नो बाटो मौलिक ढंगबाट खोजेर, विवेकशील स्वनिर्णय गरेर पथमार्गमा जानतर्फ निर्देशन गर्छ।
यी दुवै अवधारणा बुझ्न आवश्यक छ। यदि यसो गरिएमा विद्यालयले मानव आवश्यकतालाई प्रतिनिधित्व गर्ने छ, ती हामीलाई चाहिएका स्कुल बन्नेछन्।
यही नै शिक्षाको पथ हो — स्कुलमा पढेको सबै बिर्सिने, छाड्ने र जीवन यथार्थको अनुभूति गर्ने।
दार्शनिक लावोजी ताव ते चिङमा भन्छन्, 'शिक्षा खोज्दा हरेक दिन ज्ञान थपिन्छ, सत्य खोज्दा हरेक दिन ज्ञान छाडिन्छ।'
अनुभव हुन् विद्यालयले दिनुपर्ने, बाँकी सबै विषय–ज्ञान अध्यापन समय पछिको अन्तरालमा गौण हुन्छन्। जीवन पास भए कलेज फेलले फरक पार्दैन। किनभने अन्ततः जीवन पास हुनकै लागि कलेज चाहिने हो। अन्यथा किन चाहियो?
***
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)