रातको गहिरो शून्यतालाई चिर्दै म निदाएको थिएँ। थकित मन, थकित शरीर अनि त्यो अनुपस्थित मुस्कान जुन म पहिले कहिल्यै हराउन दिँदैनथेँ। रातभर चुपचाप थियो आकाश, मानौँ तारा पनि थकित भएर निदाएका थिए।
झ्यालबाट भित्र पस्दै गरेको चन्द्रमाको मधुरो उज्यालोले मेरो निधार चुम्दै थियो। बाहिरी वातावरण यति शान्त र सुनसान थियो कि मैले फेरेको सास समेत पल्लो घरकाले सुन्छन् जस्तो लाग्थ्यो। तर त्यो निद्रा साधारण थिएन। त्यो एक यस्तो संसारतिरको यात्रा थियो जसको न कुनै दिशा थियो, न कुनै सीमा। त्यही यात्राको मोडमा उनी भेटिइन्- सपनामा।
उनी शान्त तर गहिरो। अनुहार ओझेल थियो तर स्वर परिचित लाग्थ्यो। उनले केही बोलेकी थिइनन् तर मनभित्र हल्का कम्पन भएको थियो जसले मलाई सम्झायो, यो पहिलो भेट होइन। मैले उहाँलाई पहिलै देखिसकेको थिएँ, सायद कुनै सम्झनामा या कुनै कथाको एउटा पानामा। म जुन ठाउँमा थिए,त्यो ठाउँ पृथ्वी थिएन। न आकाश थियो,न जमिन।
त्यो ठाउँ त केवल एउटा बिचको समय जस्तो थियो जहाँ सपनाहरू जन्मन्छन् अनि हराउँछन्। त्यहाँ रङहरू थिए तर सामान्य आँखाले देखिने होइन, त्यहाँ संगीत थियो तर कानले सुन्नेभन्दा गहिरो। त्यही रहस्यमय परिवेशभित्र उनी मभन्दा केही पर उभिएकी थिइन्- बिना चप्पल हावामा हल्का बगिरहेकी /तैरिरहेकी जस्ती।
‘तिमी ढिलो भयौ,’ उनको स्वर आयो तर ओठ चलेका थिएनन्। आवाज मनमा गुन्जिएको थियो।
म ढिलो भएँ? मैले पनि केही नबोली उत्तर दिएँ त्यसै भित्रभित्रै, आत्माबाट आत्मामा।
‘तिमीले बाचा बिर्सियौ?’ उनले फेरि भनिन्।
अब भने उनका आँखा देखिन थाले पानी जस्तै निलो र गहिरो जसमा मैले आफ्नो रूप/आकृति हराइरहेको पाएँ।
‘कस्तो वाचा?’ मैले सोधेँ।
उनी मुस्कुराइन्। त्यो मुस्कान चिसो थियो तर घमाइलो।
अनि उनी फेरि तैरिन थालिन्- टाढा... अझ टाढा। म दौडन खोजेँ तर खुट्टा कतै टाँसिएको थियो। केवल सपनाको तन्तु थियो जुन हावामा झुन्डिएको थियो।
एकाएक वरिपरि सब कुरा बदलियो। उनीसँग बिताएका पुराना क्षणहरू झल्किए; कहिले पहाडी बस्तीको फाँटमा, कहिले नदीको किनारमा त कहिले चिया पिउँदै।
‘हामी त अनेकौँ जन्मदेखि भेटिरहेका छौँ,’ उनले भनिन्, ‘प्रत्येक पल, फरक अनुहारमा।’
‘तर यो जन्ममा हामीले भेटेका थियौँ र?’ मैले डराउँदै सोधेँ।
‘भेट्यौ?’ उनले शान्त स्वरमा भनिन्, ‘तर तिमीले विश्वास गरेनौ। मलाई तिमीले सपना ठान्यौ अनि बिर्सियौ। र म... म तिमी भित्रै बसिरहेँ, आवाजविहीन।’
उनको स्वर अब धमिलो हुँदै गइरहेको थियो। मेरो हृदय तेज गतिमा धड्कन थाल्यो- म त उनलाई गुमाउँदै थिएँ।
मैले हात बढाएँ- ‘कृपया नजानू।’
तर उनी टाढा भइसकेकी थिइन्। आँसुजस्तो झरेको थियो एक चम्किलो तेज सपनाको आँसु, सायद।
अनि म ब्युँझिएँ।
शरीर पसिनाले रेटिएको थियो। ब्युँझिएपश्चात् मैले झ्यालबाट हेरेँ- पूर्वी आकाशबाट घामको पहिलो रेखा चियाउँदै थियो र त्यो उज्यालो जुन उनको आँखामा देखेको जस्तो थियो। म सुस्त गति चाल्दै, किताबको पुरानो बाकस खोल्न पुगेँ जहाँ बाल्यकालदेखि राखिएका केही चिजहरू थिए; एक पुरानो चिठी, केही सुकाएका फूल अनि एउटा खाली बट्टा जसमा लेखिएको थियो-
‘यदि तिमीले मलाई फेरि भुल्यौ भने म तिमीलाई सपनामा सम्झाउनेछु... बारम्बार... जबसम्म तिमी सम्झन सिक्दैनौ’ र ‘जब म फेरि आउँछु, तिमीले थाहा पाउनेछौ कि त्यो सपना होइन, त्यो हाम्रो बाँकी कथा हो।’
त्यही क्षण, मलाई थाहा भयो उनी केवल सपना मात्र थिइन्, उनी सम्झना थिइन्, पर्खाइ थिइन् र उनी त्यो आत्मा थिइन् जुन हर जन्ममा मलाई साँचो प्रेम के हो भनेर सिकाउन आइरहन्छिन्। आज फेरि आएकी थिइन्- सपनामा।
सपनामा आएकी उनी फेरि नजाने गरी भित्र पसिन्। मेरो आत्माको कुनै गहिरो कुनामा जहाँ शब्द सकिन्छन् तर प्रेम बाँकी रहन्छ।