प्रिय जुनेली, धेरै माया एवं मिठो सम्झना।
आरामै छौ होला। जस्तोसुकै अवस्थामा भए पनि तिम्रो कुशल मङ्गलको कामना गर्दछु। हेर त प्रिय, जताततै चर्चै चर्चा छ अहिले निजामती सेवा ऐन र शिक्षा ऐन संशोधनको। तिमीलाई लाग्दैन हाम्रो मायाको ऐनको पनि यस्तै चर्चा चलोस् भनेर?
तिमीलाई लाग्दैन कर्मचारीहरूले जस्तै सडक र सदनमा आन्दोलन गरेजस्तै मेरो तन मनसँग आन्दोलन गर्न? आफ्नो स्वार्थको लागि च्याउ जस्तै उम्रिएका ट्रेड युनियनले सरकारलाई दिने धम्की जस्तै मलाई धम्की दिन?
सताउँछौँ मात्र न त आन्दोलनका कार्यक्रम तय गर्छौ न विज्ञप्ति नै जारी गर्छौ।
तिमी मेरो भर्खरै मायाको टुसा पलाउँदा चर्चामा आएको निजामती सेवा ऐन हेर त आजसम्म पनि चर्चा परिचर्चामा रहेको छ। १० औँ वर्षपछि सरकारले निजामती सेवा ऐन संशोधनको लागि सदनमा घनिभूत रूपमा दफावार छलफलको लागि समिति गठन गरेर दिन प्रतिदिन चर्चाको विषय बनाएको छ। त्यसैले हाम्रो मायाको ऐनको संशोधन घनिभूत र दफावार छलफल गरी विविध विषयवस्तुहरू संशोधन तथा परिमार्जन गर्नु पर्नेछ ताकि हाम्रो यो सम्बन्ध थप मजबुत एवं बलियो बनोस्।
हेर त, उता शिक्षकको आन्दोलन र दलीय ट्रेड युनियनले गर्दा मन्त्रीले धमाधम राजीनामा दिन बाध्य भए। न तिमी राजीनामा नै दिन खोज्छौ न त मैले दिएको राजीनामा स्वीकृत नै गर्न चाहन्छौ। सरकारको यो रमिता देख्दा तिमीलाई लाग्दैन संशोधित नयाँ ऐन जारी गर्न? लाग्दैन मेरो राजीनामा स्वीकृत गर्न?
शिक्षक आन्दोलनमा देखिने जादुगरको जस्तो तिम्रो चमत्कारी जादुबाट म दोधारमा परे जुनेली।
तिम्रो एकल स्वार्थ एवं मनोमानीका कारण हाम्रो मायाको ऐन संशोधन गर्न बाध्य हुँदै छौँ। त्यसैले अब तिमीले हिट्लरको जस्तै तानासाह प्रवृत्ति बन्द गर। आऊ तिम्रो र मेरो मायाको एकीकृत ऐन संशोधन गरौँ जहाँ म्याग्नाकार्टामा राजा र जनता बिचमा भएको सम्झौता जस्तै तिम्रो र मेरो विस्तृत सम्झौता हुनेछ जुन संशोधित ऐन पारित गर्ने अधिकार तिमी र ममा हुनेछ। जहाँ मन्टेस्क्युको 'द स्पिरिट अफ ल' मा जस्तै 'डु नट डु, डु नट सिट, डु नट इन्टरफेयर' अवधारणाको विकास हुनेछ।
ऐनको परिच्छेद १ को दफा १ मा एक अर्काको साथ, सहयोग एवम् विश्वास नै हाम्रो सम्बन्धको मूल कानुन हुनेछ। यससँग बाझिने उतारचढाव, झैझगडाहरू एवम् समस्या बाझिएको हकसम्म अमान्य हुनेछ। जुन ऐन अक्षरशः पालना गर्नु हामी दुवैको कर्तव्य हुनेछ।
हेर जुनेली हाम्रो मायाको संशोधित ऐनको प्रस्ताव यस्तो बन्नेछ-
हाम्रो सम्बन्धलाई विश्वसनीय, मजबुत र शङ्कारहित बनाउन र मायामा वृद्धि गरी सुसम्बन्ध कायम गर्न वाञ्छनीय भएकाले दुवैको समझदारी एवं संयुक्त छलफलमा यो संशोधित ऐन जारी गरिएको छ।
ऐनको परिच्छेद १ को दफा २ मा एक अर्काको मायाको कदर दुवैले गर्नु पर्नेछ। यदि एक अर्काको विश्वास, भरोसा र समझदारी भएन भने दुवैको समझदारीमा एक हप्ताको समय सीमा उपलब्ध गराई संशोधनको लागि प्रस्ताव पेस गर्नु पर्नेछ जसको लाग पूर्व प्रेमी/प्रेमिकासँग आवश्यक राय/सुझाव एवं सल्लाह लिन पाइने छैन।
हाम्रो माया, विश्वास, भरोसा, शङ्का र उप-शङ्कालाई अक्षुण्ण राखी विगतको माया प्रेमलाई आत्मसात् गर्दै विभिन्न झैझगडा, उतारचढाव तथा पूर्व प्रेमीका कुरा, फोन र म्यासेजलाई सम्मान गर्दै तिमीले देखाउने हिट्लरको तानासाही जस्तो प्रकृतिको अन्य गर्ने र दुवैको समझदारीमा यो ऐन संशोधन गर्न वाञ्छनीय भएकाले दिगो सम्बन्धलाई प्रगाढ गराउँदै यो ऐन संशोधन गर्दछौँ भनी लेखिने छ।
प्रिय जुनेली, भुलिसक्यौ होला है सुरुवाती चरणमा पूर्वको पशुपति 'हलेसी महादेव खोटाङ' र पूर्वकै मनकामना 'छिङटानदेवी धनकुटा' घुमेर हप्तौँ बिताएका यादहरू। अनि पक्कै बिर्सियौ होला है थारु सङ्ग्रहालय बछ्यौली चितवन, थारु सांस्कृतिक सङ्ग्रहालय ठाकुरद्वार बर्दियासँगै लगाएर सजिएका गुन्यू पोते र चोलीहरू। त्यो बेला तिमी मलाई शुक्र ग्रह जस्तो रहस्यमय र शनि ग्रह जस्तो सुन्दर एवम् आकर्षक लान्थ्यो।
प्रिय जुनेली, पक्कै बिर्सियौ होला क्यासपियन तालभन्दा गहिरो तिम्रा नयनहरूमा डुबुल्की मारेर प्रेमको सर्वोच्च शिखर चुम्ने मेरा अभिलाषाहरू बेलाबेला उत्तरी ध्रुवीय महासागर आकर्षित एवम् उत्सुक हुन्थे, त कहिले पृथ्वीको अन्तिम डिग्री दक्षिणी ध्रुवमा बरालिए जस्तै गर्थे।
तिम्रा याद, तिमीसँग बिताएका ती पलहरू मेरो तन, मन एवं मस्तिष्कमा अझै सुरक्षित छन् जुनेली। त्यसैले आऊ हाम्रो मायाको ऐनको संशोधन छिट्टै गरौँ। जसरी विस्तृत शान्ति सम्झौतामा माओवादीले जसरी हजारौँ हातहतियार विसर्जन गरेको थियो, त्यसै गरी तिमीले घमन्ड र तानासाही प्रवृत्ति विसर्जन गरिदेऊ र हाम्रो मायालाई पूर्णता देऊ।