ग्लोबल नेपाली
भदौ २३ र २४ गतेको घटनापछि विश्व समुदायलाई हामीले बुझाउन पर्ने विषय धेरै छन्। तथापि नेपालबाट विद्यार्थी जाने प्रक्रियामा अहिलेसम्म कुनै जटिलता आएको छैन।
अर्थात् हामीले विद्यार्थी लिँदैनौं भनेर कुनै देशले अहिलेसम्म भनेको छैन। यद्यपि जेनजी आन्दोलनको केही असर पर्न सक्छ भन्ने हाम्रो प्रारम्भिक आकलन छन्।
केही देशले भिसा रोकेको भन्ने सूचना आइसकेपछि हामीले शैक्षिक परामर्श संघ (इक्यान) मार्फत् इमेल लगायत विभिन्न माध्यमबाट बुझ्दा जेनजी आन्दोलनले नेपाली विद्यार्थीको 'रेटिङ' मा कुनै समस्या आएको छैन।
नेपालबाट विद्यार्थी जाने क्रममा कुनै असर पर्न हुँदैन भनेर हामीले विषयवस्तु राखिसकेका छौं। तथापि अबको सन्दर्भमा कुनै न कुनै तरिकाले भदौ २४ को थोरबहुत असर पर्छ भन्ने हाम्रो बुझाइ हो।
भदौ २४ गते ठूलो संख्यामा कैदीहरू भागेको र अहिलेसम्म धेरै कैदी फर्किन बाँकी नै रहेको समाचार फैलिएको छ। यस्ता घटनालाई मानव अधिकार बलियो भएका देशरूले निकै गम्भीर ढंगले लिन्छन्। कुनै तरिकाले ती कैदीहरू अध्यागमन पार गरेर आउने हुन् कि भन्ने संशय रहन सक्छ भन्ने हाम्रो बुझाइ हो।
अहिलसम्म विद्यार्थीको मूल गन्तव्य मानिएका अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, जापान लगायतका देशहरूमा व्यावहारिक रूपमा कुनै समस्या छैन। क्यानडामा भिजिट भिसामा केही समस्या देखिएको छ। तिम्रो देशको अवस्था अनुसार तिमी फर्किने सम्भावना छैन भनेर भिसा दिन अस्वीकार गरेको भन्ने जानकारी हामीले पाएका छौं। त्यसैले आन्दोलनपछि हामी लयमा फर्किएका छौं भनेर विदेशी समुदायलाई बुझाउन जरूरी छ।
जेनजी विद्रोहले जुन म्याण्डेट दिएको थियो, जुन सुधारको माग राखेको थियो, त्यो अनुसारको काम भएको भए जेनजी विद्रोह 'सफ्ट पावर' को रूपमा अघि बढ्न सक्थ्यो। यो आन्दोलनपछि पनि हाम्रो गन्तव्य स्पष्ट रूपमा देखिएको छैन। यस्तो अन्यौलताले अझै धेरै असर पार्न सक्छ।
अहिले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्न मन्त्री आउनुभएको छैन। यस्तो बेला परराष्ट्र मन्त्रीले गर्नुपर्ने धेरै काम छ। अहिलेको विश्वव्यापीकरणमा नेपाली विद्यार्थीको उपस्थिति र उनीहरूको प्रस्तुति दुवै राम्रो छ भनेर बुझाउन जरूरी छ।
विदेश गएर प्रक्रिया पुर्याएर उतैको पिआर सिटिजनसिप लिने क्रम पनि छ भने आन्ट्रप्रनरसिप गरेर धन र सीप कमाएर नेपालमा काम गर्नेको संख्या पनि उत्तिकै छ। यसलाई हामीले एकातिर धेरै प्रचार गर्नुपर्छ भने देशको विकासका लागि पुँजीकृत गर्न सक्नुपर्छ।
भदौ २४ गतेको घटनाले सरकारी कार्यालयहरू जलेका कारण विद्यार्थीका डकुमेन्टहरू मिलाउन केही समस्या हुन सक्छ।
जस्तो, पालिकाहरूका कागजपत्र जलाइएका छन् जसले गर्दा विद्यार्थीका लागि सम्पत्ति मूल्यांकनमा समस्या हुन सक्छ। त्यस्तै, बागमती प्रदेशको सामाजिक मन्त्रालय जलाइएका कारण शैक्षिक परामर्श केन्द्रका कागजात समेत ध्वस्त भएका छन्। यस्तै अरू प्रदेशमा पनि भएको हुन सक्छ।जसले गर्दा महत्वपूर्ण रेकर्ड भेट्न समस्या हुन्छ। विद्यार्थी बाहिर जाने प्रक्रियामा यो सबै जोडिन्छ। जसको प्रभाव कतै न कतै अवश्य देखिन्छ।
यसका बाबजुद पनि बैंकहरूले लोन दिने प्रक्रियालाई जटिल बनाएका छैनन्। अर्थात् पहिला जस्तै तरिकाले बैंकहरू चलेका छन्।
यस्तो बेला जेनजी आन्दोलन हाम्रो कमजोरी होइन, शक्ति हो भनेर बलियो सन्देश हामीले दिन सक्नुपर्छ। आफ्नो देशमा आन्दोलन भइरहँदा विदेशमा रहेको जोकोहीलाई चासो लाग्नु स्वाभाविक हो। त्यसमा पनि हामी दक्षिण एसियनहरू राष्ट्रियताको सवालमा अलि धेरै भावुक छौं। तर विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूले कतिपय विषयमा सचेतता अपनाउन जरूरी छ। देशका विषयमा भर्चुअल रूपमा जोडिन सकिन्छ। तर विदेशी भूमि भएका बेला भौतिक रूपमा विरोधमा उत्रियौं भने त्यसले आफैलाई हानि पुग्न सक्छ। किनकि हामीले आफ्ना देशका बारेमा प्रदर्शन गर्दैगर्दा अरूले राम्रो मान्दैनन्। जसको असर हाम्रो बसाइ र भिसामा समेत पर्न सक्छ।
नेपाली स्वयमले विदेशमा आफ्नो पहिचान बदल्दै गएका छन्। कुनै बेला नेपाली भन्नसाथ क्लिनिङ, होटल रेस्टुराँमा मजदुरी गर्ने भन्ने रूपमा मात्र हेरिन्थ्यो। अहिले नेपालीहरूले आफ्नै व्यापार, व्यवसाय अनि एकेडेमिक रूपमा राम्रो काम गरेका छन्। राम्रा राम्रा होटल रेस्टुराँमा पनि निर्णायक तहमा पुगेका छन्। त्यसैले पनि नेपालको राजनीतिक अवस्थालाई हेरेर मात्र भिसा दिने/नदिने निर्धारण हुन्छ भन्ने मलाई लाग्दैन।
जेनजी आन्दोलनलाई लिएर विभिन्न कन्स्पिरेसी लगाएर विदेशी चलखेलले मात्र यस्तो भएको हो भन्ने खालको सन्देश जान खोजिरहेको छ। यसलाई हामीले त्यो आन्दोलन युवाहरूको आवाज थियो, उनीहरूको उपस्थिति थियो भन्ने सन्देश राखेर प्रचार गर्न जरूरी छ। जसले नेपालको विश्वव्यापी छवि राम्रो बनाउन मद्दत गर्छ।
अहिलेसम्म जेनजी आन्दोलनले विद्यार्थी भिसामा समस्या पर्यो भन्ने सुन्नमा आएको छैन।
कतिपय देशहरूले आफ्नै आन्तरिक कारणले कहिले खुकुलो, कहिले कडाइ गर्छन्। त्यो उनीहरूको नीति समेत हुन्छ। अनि जुनसुकै देशले पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई देशको आधारमा रेटिङ गरेका हुन्छन्। रेटिङलाई आधार मान्ने हो भने हामी दक्षिण एसियामा कमजोर छैनौं। अर्थात् हामी सबैसँग बराबरीमा छौं या त्योभन्दा माथि छौं।
(जेनजी आन्दोलनपछि अध्ययनका लागि विदेश जाने क्रममा पर्न सक्ने सम्भावित चुनौतीबारे नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष एवम् अर्विट इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक शेषराज भट्टराईसँग भिडिओ कुराकानी गरेका छौं।)