दैलेखको महाबु गाउँपालिका–५ का दीपक शाही पाँच वर्षअघि कामको खोजीमा भारतको बैंगलुरू पुगे।
नेपालमा गरिरहेको व्यवसाय डुबेपछि उनी बाध्य भएर कामको खोजीमा पुगेका थिए।
पहिले उनी काठमाडौंमा टिपर चलाउँथे। कोरोना महामारीले निर्माण व्यवसाय चौपट भएपछि उनी दैलेख फर्किए।
दैलेखमा केही समय गाडी चलाए। फेरि निर्माण क्षेत्रकै काम सुरू गरे। त्यहाँ पनि लगानी डुब्यो।
'अरू सानोतिनो व्यापार गरेर भए पनि गाउँमै टिक्छु भनेर धेरै प्रयास गरेँ। तर सफल भइनँ,' दीपकले सुनाए।
एकपछि अर्को प्रयास असफल भइरह्यो। घरको आवश्यकता भने बढिरह्यो।
त्यही आवश्यकताले उनलाई भारत पुर्यायो।
सुरूमा उनले बैंगलुरूको एउटा तरकारी पसलमा प्याकिङ गर्ने काम पाए। मासिक १३ हजार भारू तलब थियो। सात महिनासम्म एक दिन पनि बिदा नलिई काम गरे।
‘तनावमा थिएँ। एक दिन पनि बिदा नलिई ७ महिना काम गरेँ। त्यो कामले धान्न छाडेपछि विकल्प खोज्न थालेँ,' उनले भने।
महँगी धेरै थियो। त्यो कामबाट खर्च चलाउन मुस्किल परिरहेको थियो। त्यसपछि उनी राम्रो अवसरको खोजीमा धेरै भौंतारिए।
पछि उनले सवारीसाधन चलाउने काम पाए।
अहिले उनी बैंगलुरूमा एउटा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को गाडी चलाउँछन्।
यो काम बिहान ७ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि साढे ६ बजेसम्म मात्रै हुन्छ। दिनभर उनी फुर्सदमै हुन्छन्। शनिबार र आइतबार बिदा हुन्छ।
'मासिक ३५ हजार भारू कमाइ हुन्छ। सहज काम छ। दुःख छैन,' उनले सुनाए, 'तर बैंगलुरू खर्चिलो छ। कमाएको पैसा बचाउन मुस्किल पर्छ।'
उनका अनुसार ५ वर्षअघि मासिक तीन हजार भारू पर्ने कोठाको भाडा अहिले ८ हजार भारू पुगेको छ। ग्यासको भाउ ७–८ सय भारूबाट बढेर १८ सय भारू पुगेको छ। यसैगरी चामल, दालको भाउ पनि बढेको छ।
त्यसैले कोही बैंगलुरू आउने योजनामा छ भने कम्तीमा ५० हजार नेपाली रूपैयाँ बोकेर आउन उनी सुझाउँछन्।
'नभए टिकेर काम खोज्न पनि मुस्किल पर्छ,' दीपकले भने, 'कोठाभाडा अग्रिम तिर्नुपर्छ। त्यसैले सुरूआती खर्च नै धेरै हुन्छ।'

प्रवासन भारत कर्नाटक राज्यको राज्य कमिटीका उपाध्यक्षसमेत रहेका दीपक त्यहाँका प्रवासी नेपाली र श्रम बजारबारे पनि चासो राख्छन्।
त्यहाँ ब्युटिसियन, सवारी चालक, इन्जिनियर लगायतलाई काम पाउन सहज छ। सीप नहुनेले पनि घरेलु काम पाउन सक्छन्। तर यस्तो काममा सुरक्षा व्यवस्था नहुने उनले बताए।
'कम्पनीमा काम गर्नेको तलब कम्तीमा १५ हजार भारू हुन्छ। तर श्रमिकहरूले कतिपय कम्पनीमा ८ घन्टा भनिएको ठाउँमा ९ देखि १० घन्टासम्म खट्नुपर्ने अवस्था छ,' दीपकले भने।
बैंगलुरूमा ठूलो संख्यामा नेपाली श्रमिकहरू छन्। श्रम स्वीकृति लिनु नपर्ने र आँकडा पनि नराखिने हुँदा ठ्याक्कै कति नेपाली त्यहाँ कार्यरत छन् भन्ने जानकारी भने नभएको उनले बताए।
भारतमा श्रम गर्ने नेपालीका समस्या रोजगारी र तलब मात्र नभई कागजात, बैंकिङ, बीमा, दुर्घटना, उपचार, शव व्यवस्थापन सम्मका छन्।
'यहाँ काम गर्नेहरूको न त बीमा छ, न सामाजिक सुरक्षा। राम्रो र सेवासुविधा भएको कम्पनी परेको भए हो, नत्र अरू केही हुँदैन,' उनले भने।
भारतमा नेपालीले रोजगारी खोज्दा सबभन्दा पहिले कागजातको समस्या बेहोर्नुपर्ने उनी बताउँछन्।
विशेषगरी आधार कार्ड महत्त्वपूर्ण छ। आधार कार्ड नभए निजी क्षेत्रमा काम पाउन कठिन हुन्छ। महिलाका लागि झन् समस्या हुने उनले बताए।
'आधार कार्ड बनाउन दलाललाई पैसा बुझाउनुपर्छ,' उनले भने, 'कतिपय एजेन्टले पाँच हजार भारूसम्म लिन्छन्। कतिले पैसा लिए पनि आधार कार्ड बन्दैन।'
आधार कार्डसँगै प्यान कार्ड र बैंक खाता पनि आवश्यक हुन्छ। बैंक खाता नभए पैसा पठाउन र व्यवस्थापन गर्न समस्या हुन्छ।
दीपक एक मनी ट्रान्सफरका एजेन्ट पनि हुन्। बैंगलुरूमा कमाएको पैसा सुरक्षित रूपमा नेपाल पठाउन भने समस्या छैन।
भारतमा काम गर्ने नेपालीका लागि सडक तथा कार्यस्थल दुर्घटना अर्को ठूलो जोखिम हो।
'यहाँ सडक दुर्घटनामा कोही नेपालीको मृत्यु भयो भने कसैले जिम्मेवारी लिँदैन। शव पठाउने पैसा पनि हुँदैन, धेरै गाह्रो छ,' दीपक भन्छन्, 'क्षतिपूर्ति तथा न्याय पाउन पनि निकै कठिन हुन्छ।'
सरकारले भारत जाने श्रमिकहरूको हकहितमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
आफूजस्ता भुइँमान्छेको हकमा सरकारले सोच्नुपर्ने उनले बताए। कम्तीमा श्रम गर्न जानेको विवरण राख्ने र बीमाको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।
'बैंगलुरूमा नेपालीका समस्या सुनुवाइ गर्ने प्रभावकारी संयन्त्र आवश्यक छ। यहाँ समस्या पर्दा उजुरी गर्ने ठाउँ छैन। भारतस्थित नेपाली दूतावास यहाँबाट धेरै टाढा छ, त्यहाँ गएर उजुरी गर्न सम्भव नै छैन। फोन पनि उठ्दैन,' उनले भने।
भारत जाने श्रमिकहरूको सम्बन्धमा काम गर्दै आएको संस्था नेसनल माइग्रेन्ट नेटवर्कका कार्यकारी निर्देशक सञ्जीव अधिकारी पनि श्रमिकहरू थुप्रै हकअधिकारबाट वञ्चित भइरहेको बताउँछन्।
श्रमिकका सवालमा दुई देशबीच कूटनीतिक पहल हुन नसक्दा श्रमिकहरू अप्ठ्यारोमा परेका बेला न्याय पाउन कठिन हुने उनले बताए।
'समस्या नपरून्जेल त केही भएन। तर कोही समस्यामा परे सुरक्षाका सवालमा निकै अप्ठ्यारो छ। श्रमिकहरूको बीमा, सामाजिक सुरक्षाजस्ता पक्षमा पनि दुई देशका सरकारबीच समन्वय हुनुपर्ने देखिन्छ,' अधिकारीले भने।
हाल भारतमा नेपाली श्रमिक कति छन् भन्ने यकिन तथ्यांक छैन।
यसले गर्दा पनि समस्या परिरहेको औंल्याउँदै उनले पञ्जीकरणको व्यवस्था हुनुपर्ने बताए।
***