गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ र नेपाल महावाणिज्य दूतावास, हङकङको संयुक्त आयोजनामा ७३ औं अन्तर्राष्ट्रिय एभरेष्ट दिवसको अवसरमा ‘एभरेष्ट म:म फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न भएको छ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरणमा आयोजित कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत सतिश गुरुङ, हङकङ विधान परिषद्का सदस्य भिन्सेन्ट चेङ (MH, JP), याउ चिम मोङ जिल्ला परिषद्का सदस्यहरू, एनआरएनए आइसीसीका पदाधिकारी तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षण ‘बेस्ट मम इन एचके २०२६’ प्रतिस्पर्धा थियो। सात नेपाली रेस्टुरेन्ट सहभागी भएको प्रतिस्पर्धामा २०० जनाले प्रत्यक्ष स्वाद परीक्षण गरी मतदान गरेका थिए। मतदानको आधारमा ४.१ औसत अंक प्राप्त गर्दै एभरेष्ट रेस्टुरेन्ट एण्ड बार उत्कृष्ट मोमोको उपाधि जित्न सफल भयो।
एरिका पुनद्वारा सञ्चालित र एनआरएनए हङकङकी महिला संयोजक सत्यवती घतराजद्वारा सहजीकरण गरिएको कार्यक्रममा एनआरएनए हङकङका अध्यक्ष अनु राईले एभरेष्ट र मःमको महत्वबारे जानकारी गराएकी थिइन्।
एनआरएन (आइसिसी) उपाध्यक्ष राधिका गुरूङ (टीका) ले म:म फेस्टमा सहभागी र उत्कृष्ट हुनेहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेकी थिइन्।
यस अवसरमा ‘एभरेष्ट विशेष संस्करण’ पत्रिकाको विमोचन समेत गरिएको थियो। साथै ‘च्याम्पियनको मानसिकता’ विषयक प्यानल छलफलमा सगरमाथा आरोही अन्जला राई र निमा दोर्ची शेर्पाले आफ्ना अनुभव सुनाएका थिए।
एनआरएनए हङकङका महासचिव इन्दर पुर्जा पुनले कार्यक्रमले नेपाली समुदाय, संस्कृति, पाककला र हिमाली विरासतलाई हङकङमा थप प्रवर्द्धन गरेको बताए।