सोमबार नेप्सेमा करेक्सन आएको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार ५३.३ अंकले नेप्से बढेकाले बजारमा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
सोही कारण सोमबारको बजार सामान्य प्रभावित भएको हो।
यस दिन नेप्से ०.९१ प्रतिशतले घटेर १९०१.९९ बिन्दुमा पुगेको छ।
सोमबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ पुगेको छ।
यस दिन २७७ वटा धितोपत्रको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच भएको हो।
सोमबार रिभर फल्स पावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य २९४ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्डको इकाइ मूल्य ५.८८ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रुपैयाँ ३७ पैसा पुगेको छ।
यसैगरी, शिवम् सिमेन्टको सेयर मूल्य सर्वाधिक ४.५० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४६५ रुपैयाँमा झरेको छ।
यस्तै, जोशी हाइड्रोपावरको सेयर मूल्य ४.३४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २८० रुपैयाँमा सीमित भएको छ।
सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४६५ रुपैयाँमा १९ करोड ८९ लाख बराबरको सेयर कारोबार भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको ४२३ रुपैयाँमा ९ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशतले घटेको छ।