नेपाल राष्ट्र बैंकको तथ्यांकले साउनदेखि चैतसम्मको औसत मूल्य वृद्धि ४.५७ प्रतिशत देखाएको छ।
गत आर्थिक वर्षको यो अवधिसम्मको औसत मूल्य वृद्धि ५.९२ प्रतिशत थियो।
मासिक आधारमा चैतमा औसत मूल्य वृद्धि ३.३९ प्रतिशत छ।
उपलब्ध तथ्यांक अनुसार चैतमा बजार भाउ ४२ महिनायताकै सस्तो भएको हो। यसअघि आर्थिक वर्ष २०७७ को भदौमा मूल्य वृद्धि दर ३.४९ प्रतिशत थियो।
यस वर्षको अघिल्लो महिना फागुनमा भने यस्तो मूल्य वृद्धि ३.७५ प्रतिशत थियो।
यसवर्ष साउनदेखि माघसम्ममा अघिल्लो वर्षको यही अवधिको तुलनामा घ्यु तेलमा सबैभन्दा धेरै ११.६३ प्रतिशतले वृद्धि भएको छ।
फलफूलमा ९.०७ प्रतिशत, दाल तथा गेडागुडीमा ६.५८ प्रतिशत, गैर मदिराजन्य पेय पदार्थमा ५.१६ प्रतिशतले वृद्धि भएको छ।
तर, तरकारीमा ५.२४ प्रतिशत, मरमसला २.३२ प्रतिशतले र माछा मासुमा ०.८९ प्रतिशतले मूल्य घटेको छ।
गैर–खाद्य तथा सेवा अन्तर्गत विविध वस्तु तथा सेवामा ८.६९ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ६.०७ प्रतिशत, घरायसी सामान तथा फर्निसिङको ५.५९ प्रतिशत र सूर्तीजन्य पदार्थको ४.८३ प्रतिशतले बढेको छ।
ग्रामीण क्षेत्रमा मूल्य वृद्धिदर ३.७८ प्रतिशत र सहरी क्षेत्रमा ३.२५ प्रतिशतले बढेको छ।
कोशी प्रदेशमा ४.९१ प्रतिशत, मधेश प्रदेशमा ३.५९ प्रतिशत, बागमती प्रदेशमा २.८० प्रतिशत, गण्डकी प्रदेशमा २.८३ प्रतिशत, लुम्बिनी प्रदेशमा ३.११ प्रतिशत, कर्णाली प्रदेशमा ३.११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.५१ प्रतिशत महँगी बढेको छ।