अन्य क्षेत्रबाट कर्जा माग बढ्न नसक्दा यसको लाभ सेयर बजारले पाइरहेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत)को अवधिमा बैंकहरूको प्रडक्ट अनुसार जाने कर्जामा आयातमा आधारित कर्जा र सेयर धितोमा जाने कर्जामा उच्च दरमा वृद्धि देखिएको हो।
यो अवधिमा आयातमा आधारित कर्जा ६०.६ प्रतिशतले बढेर एक खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ। यस्तो कर्जाको वृद्धिदर उच्च भए पनि ५५ खर्ब ३४ अर्ब कुल कर्जा लगानी भएकोले यो रकम कम नै हो।
त्यस्तै, सेयर धितोमा जाने कर्जा पनि ३७.८ प्रतिशतले बढेर एक खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ।
गत वर्षको यही अवधिसम्म भने ८६ अर्ब रूपैयाँ यस्तो कर्जा गएको थियो। चैत एक महिनामा मात्रै ६ अर्ब रूपैयाँले सेयर धितो कर्जा बढेको हो।
फागुनसम्ममा एक खर्ब १८ अर्ब यस्तो कर्जा गएको थियो।
राष्ट्र बैंकले सेयर धितोमा जाने कर्जालाई लगानी रकम अनुसार बिभाजन गरेर हेर्ने गरेको छ। यस्तो विभाजन अनुसार सबै खाले कर्जामा वृद्धि भएको छ।
तर, एक करोड रूपैयाँभन्दा बढी रकमको यस्तो कर्जामा उच्च वृद्धि छ। एक करोडभन्दा बढी रकमको कर्जा ५१.४ प्रतिशतले बढेर ८४ अर्ब रूपैयाँ पुगेको हो।
बैंक तथा वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा जाने कुल कर्जा भने ७.१ प्रतिशतले बढेको छ।
गत असारसम्ममा ५१ खर्ब ६७ अर्ब कर्जा लगानी गरेका बैंकहरूले चैतसम्ममा आइपुग्दा ५५ खर्ब ३४ अर्ब कर्जा लगानी गरेका हुन्।