चिनियाँ अटोमेकर कम्पनी बिवाइडीले युरोपमा पहिलोपटक टेस्लाभन्दा धेरै कार बेचेको छ।
अटो बजारको प्रवृत्ति, मूल्य निर्धारण र बिक्रीसम्बन्धी विश्लेषण गर्ने कम्पनी जाटो डाइनामिक्सले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अप्रिल महिनामा युरोपभरि टेस्लाले भन्दा बिवाइडीका विद्युतीय कार बढी बिक्री भएको हो।
अप्रिल महिनामा टेस्लाले ७ हजार १६५ वटा विद्युतीय कार बिक्री गर्दा बिवाइडीले ७ हजार २३१ वटा कार बिक्री गरेको जाटोको प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार लेखेको छ।
जाटोले टेस्लाको पुरानै मोडल र यसका मालिक इलन मस्कको ट्रम्पसँगको निकटताका कारण युरोपमा व्यापार खस्किँदा बिवाइडीलाई यो सफलता प्राप्त भएको विश्लेषण गरेको छ।
'वर्षौंदेखिको टेस्लाको दबदबालाई बिवाइडीले उछिन्नु युरोपको अटो बजारमा ऐतिहासिक क्षण हो,' जाटोका ग्लोबल विश्लेषक फिलिप म्युनजले भने।
युरोपमा गत वर्षको तुलनामा विद्युतीय गाडीको माग बढेको पनि जाटोको अनुसन्धानले देखाएको छ। त्यसमध्ये बिवाइडीको माग अरू कम्पनीका गाडीको तुलनामा धेरै रहेको रिपोर्टले देखाएको छ।
गत वर्षको अप्रिलको तुलनामा यस वर्ष विद्युतीय गाडी दर्ता २८ प्रतिशतले बढेको छ। युरोपेली संघले चिनियाँ गाडीमा कर लगाए पनि गत वर्षको तुलनामा बिवाइडीको नयाँ दर्ता ५९%ले बढेको जाटोको प्रतिवेदनले देखाएको छ। युरोप, जापान, दक्षिण कोरिया र अमेरिकामा बनेका गाडीको नयाँ दर्ता गत वर्षको तुलनामा २६ प्रतिशतले मात्रै बढेको बताइएको छ।
ट्रम्पसँग नजिकिएर राजनीतिमा होमिएका कारण कम्पनीको यो वर्षको पहिलो त्रैमासमै ७१ प्रतिशत नाफा घटेको थियो। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब ४० करोड नाफा गरेको टेस्लाले यो वर्ष पहिलो त्रैमासाम ४० करोड ९० लाख डलरमात्रै नाफा कमाएको थियो।
टेस्लाको व्यापार उकास्न ट्रम्पले ह्वाइट हाउसमा मस्कको उपस्थितिमै आयोजित एक कार्यक्रममा रातो 'एस मोडल' किनेर विज्ञापन नै गरेका थिए। त्यसका बाबजुद अमेरिकामा टेस्लाको बिक्री बढेन।
नाफा घटेपछि टेस्लाले सन् २०३० सम्म वार्षिक दुई करोड वटा कार उत्पादन गर्ने लक्ष्य पनि त्यागेको छ।
राजनीतिमा लागेपछि व्यापार खस्किएपछि इलन मस्कले अब ह्वाइट हाउसमा कम समय खर्चिने र आफ्नो मुख्य व्यवसायलाई ध्यान दिने घोषणा गरेका थिए। तर मस्क ट्रम्प सरकारबाट अलग्गिए पनि टेस्ला ब्रान्डलाई उनको राजनीतिले फेरि नसुध्रिने गरी नोक्सान गरिसकेको मानिन्छ।
मस्कको चामत्कारिक र सफल व्यक्तित्वले चम्किएको टेस्लाको व्यापार उनको लोकप्रियता खस्किएसँग घाटा भएको छ।
बिवाइडी लगायत चिनियाँ कम्पनीले पछिल्लो समयमा तुलनात्मक रूपमा राम्रा गाडी धेरै सस्तो लागतमा उत्पादन गर्न थालेकाले पनि टेस्ला प्रतिस्पर्धामा पछि परेको हो।