देशको अवस्था सामान्य भइदिएको भए अहिले गाडी बिक्रेता कम्पनीहरूलाई बिक्रीको चाप परेको हुन्थ्यो।
नाइमा र नाडा अटो शोका क्रममा सबैजसो अटोमोबाइल कम्पनीले नयाँ मोडलका गाडी भित्र्याएका थिए, जसको बुकिङ र बिक्रीको क्रम भर्खर सुरू हुँदै थियो। त्यसमाथि दसैं, तिहार, छठ लगायत चाडपर्व पनि नयाँ गाडी बिक्री हुने सिजन नै हो।
विडम्बना के भने, अहिले अधिकांश अटोमोबाइल कम्पनीहरू आफ्नो शोरूम र कार्यालयमा भएको तोडफोड र आगजनीको हिसाबकिताब गर्दैछन्। भदौ २४ गते प्रदर्शनकारीहरूले शोरूम र कार्यालयमा पुर्याएको क्षतिको आँकडा संकलन गर्दै छन्।
उक्त प्रदर्शन क्रममा काठमाडौंका थापाथली र कलंकी क्षेत्रमा भएका धेरै अटोमोबाइल कम्पनीका शोरूम जलाइएका थिए। शोरूम तोडफोड गर्नुका साथै त्यहाँ बिक्रीका लागि राखिएका नयाँ गाडीहरूमा आगो झोसिएको थियो।
थापाथलीलाई गाडीको बजार हबका रूपमा लिइन्छ। सिजी, सिप्रदी, हुन्डाई, लिप, एमजी, बिवाइडी, ओमोडा, महिन्द्रा, निशान, काइयी लगायत धेरै गाडीका शोरूम थापाथलीमै छन्। यीमध्ये धेरै शोरूम भदौ २४ को आन्दोलनमा तहसनहस भएका छन्।
कलंकीमा पनि धेरै अटोमोबाइल शोरूम तोडफोड गरिएको छ। काठमाडौं बाहिर पनि यस्तो तोडफोड भएको बिक्रेता कम्पनीहरूले बताएका छन्।
तोडफोड र आगजनीको क्षति बीमाले समेट्न सक्ने भए पनि यो घटनापछि व्यापार सामान्य हुन धेरै नै समय लाग्ने हो कि भन्ने चिन्ता व्यवसायीहरूलाई छ।
'सामान्यतया दसैंअघि सबभन्दा धेरै गाडीको व्यापार हुन्छ। यसपालि भने यस्तो व्यापार हुने संकेत देखिएको छैन,' जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, 'दसैंमा नै नभएको व्यापार अरू समयमा हुन गाह्रो हुन्छ।'
हामीले कुरा गरेका अटोमोबाइल व्यवसायीहरूले आगामी दिनमा मुख्यतया दुई कारणले व्यापार खस्कन सक्ने अनुमान गरेका छन् —
पहिलो, अहिलेको आन्दोलनका कारण अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ। यसले मानिसहरूको आयमा प्रभाव पार्ने भएकाले महँगा गाडी किन्न नखोज्ने तथा अर्डर गरेकाहरू पनि पछि सार्ने अनुमान छ।
दोस्रो, हालैको प्रदर्शनमा राम्रो घर र राम्रो गाडी भएकाहरूलाई खोजी खोजी हमला गरिएकाले अबका दिनमा मान्छेहरू नयाँ गाडी किन्न निरूत्साहित हुन सक्छन्। यसले पनि तत्काललाई गाडी किन्न कम हुन सक्ने देखिन्छ।
यसबीच तोडफोड भएका केही बिक्रेता कम्पनीले आइतबारबाट शोरूम सञ्चालन गर्ने तयारी गरेका छन्। त्यसमध्ये लक्ष्मी हुन्डाई एक हो।
'सामान्य अवस्था रह्यो भने आइतबारबाटै शोरूम खोल्ने गरी तयारी गरेका छौं, शनिबार सरसफाइ सक्नेछौं,' लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलियाले भने।
उनका अनुसार प्रदर्शनकारीले लक्ष्मी हुन्डाईको एउटा गाडी आगजनी र दुइटा तोडफोड गरेका छन्। टेबल, कुर्सी र कम्प्युटर पनि फुटाइएको छ।
सबभन्दा ठूलो क्षति सिजी मोटर्समा भएको छ। सिजी मोटर्सले अहिलेसम्म कति क्षति भएको छ भनेर आकलन गर्न नसकेको जनाएको छ।
नेपालका लागि टाटाका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पनि क्षतिको विवरण अझै संकलन गरिनसकेको जनाएको छ।
'हामीले अझै क्षति आकलन गरिसकेका छैनौं। मुलुकभर विभिन्न स्थानमा हाम्रा शोरूम छन्, धेरैमा कर्मचारी पुग्न सक्नुभएको छैन,' सिप्रदीका महाप्रबन्धक (प्यासेजन्जर भेहिकल बिजनेस) शावन्तजंग सिजापतिले भने।
महिन्द्राका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले तीन करोड रूपैयाँभन्दा बढीको क्षति पुगेको प्रारम्भिक आकलन गरेको छ।
त्यस्तै, जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले तोडफोडमा भएको गाडी क्षति पनि आकलन गर्न नसकिएको बताए।